Banner News

आर्थिक समृद्धि लागि एमालेको नेतृत्व आवश्यक – नेता खनाल



इलाम, ७ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

इलाम सदरमुकाममा आज बिहान रासससँग कुराकानी गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे । चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने बताए ।

निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ नेता खनालले भने, आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ । पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै उनले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरे ।

जिल्लाको विकास निर्माणमा आफूले स्थानीयतहदेखि केन्द्रसम्म पहल र प्रयास गरेको विचार व्यक्त गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि आर्थिक समृद्धि आवश्यक रहेको उल्लेख गरे ।

हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै अभियान सुरुवात गर्नुपर्ने बताउनुभयो ।
पर्यटनको अनेकौँ सम्भावना बोकेको पूर्वको यस जिल्लालाई देशकै नमुना बनाउन नेकपा एमाले ले पहल थालेको समेत उनको भनाइ थियो ।