Banner News

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ – प्रम



भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भने।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा एमाले सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । मधेसीले केही माग राखेका छन् प्रधानमन्त्री देउवाले भने, दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन । संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उहाँले बताए ।

उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने, अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु । महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराए ।

नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उहाँ आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।