मोरङ, १० असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए ।
नेकपा एमाले मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गरे । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भने – राष्ट्रिय झन्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने । यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै उनले भने – उर्लाबारीको समग्र विकासका लागि गुरुयोजना बनाएर एमाले अघि बढ्छ । हिजोका दिनमा मावा र बक्राहा खोला उर्लाबारीको पीडाको विषय बनेको थियो अब ती पीडाका विषय नरहने र त्यसलाई नियन्त्रण गरेर लाभ लिन सकिने छ। आफूले देश बनाउने कुरा गर्दा विपक्षी दलले अनेकथरी आरोप लगाएको भन्दै ओलीले भने – हामी विकास निर्माणको कुरा गर्छौ, उनीहरु त्यसलाई उखान टुक्का बुझ्छन् । देश बनाउने सङ्कल्प बोकेर हिँडेकै कारण आफ्नो पार्टी कसैसँग पनि झुक्दैन् ।
सभामा एमाले केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, एमाले सल्लाहकार सदस्य घनश्याम खतिवडाले पनि आफ्नो धारणा राख्नुभएको थियो । सभामा उर्लाबारीको नगर प्रमुख पदका उम्मेदवार भुपालसिंह जिमी र उपप्रमुख पदकी उम्मेदवार लक्ष्मी भण्डारीले आफ्ना प्रतिबद्धता राखेकि थिइन ।
प्रतिक्रिया दिनुहोस्