Banner News

पानी देऊ अनि मात्र भोट दिन्छौ



रामपुर पाल्पा, १० असार । रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ ।

यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाईमा पुगेका छन् ।

मतदाताले विगतका वर्षको निर्वाचनलाई सम्झिदै भन्छन् हामीलाई झुट्टा आश्वासन चाहिएको छैन, गाउँलाई विशाल सहर बनाउन पनि जरुरी छैन, हामी गाउँका गरिब दःुखी जनतालाई प्रलोभन नदेखाऊ, सक्छौ भने हामीलाई प्यास मेटाउने पानी देऊ, अनिमात्र पाउँछौ भोट ।

मौलाथरका ७१ वर्षीय फत्तबहादुर थापाले भन्छन हामी झुपडीमा बस्ने गरिबलाई महलको सपना नदेखाऊ, विगतका निर्वाचनमा जस्तो यस पटकको झुट्टा आश्वासनमा नेपाली जनता भुल्ने छैनन्, कागजको खोस्टोमा झुट्टा कुरा कोरेर गाउँ नपस, गाउँमा पानी लिएर आएका छाँै भने भोट पाउँछौ ।

यस क्षेत्रका स्थानीयवासीको पहिलो माग भनेको नै प्यास लाग्दा पिउने पानीको रहेको छ, स्थानीयको एउटै आवाज र माग छन् – ‘पानी देऊ अनि मात्र भोट दिन्छौ’ ।

नेता निर्वाचनका बेला गाउँ पस्छन्, बाजे तपाईको सारा सपना पूरा गराइदिन्छौ, फलानो पार्टीमा भोट हाल भन्छन् निर्वाचन सकिएपछि नेतृत्वकर्ता सहरतिर बस्छन्, बाजेलाई लागेको तिर्खाको प्यास बाजेकै मनलाई थाहा होला हाम्रा नेतालाई अत्तोपत्तो हुदँैन थापाको दुःखेसो छ ।

यहाँका स्थानीयवासीले दैनिक घन्टौ समय लगाएर खानेपानीको जोहो गर्दै आएका छन् । ३३ घरपरिवार बसोवास रहेको मौलाथरवासीले बाबुबाजेको पालादेखि नै हिउँदमा होस् या वर्षायाम बाह्रैमहिना दिनमा एक दुई घन्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउँदै आएको स्थानीय पदमबहादुर थापा बताउछन ।

गाउँको धारादी, झर्लेङदी पंधँेराबाट उनीहरु पानी भर्दै आएका छन् । खडेरीयाम सुरु भएपछि कुवा, खोल्सीका पानी सुक्न थालेपछि पानी खोज्दै हिँड्दा दिनै बित्छप म्फा आलेले भनिन – पानीको खोजीमा हिँड्दा अन्य कामकाजमा पनि समस्या परेको छ ।

मौलाथरमा मात्र होइन साविक दर्छा गाविसको गैलुकलगायतका क्षेत्रका पनि खानेपानीको समस्या उस्तै छ । दुई हात जोडेर आफ्नो दलको निर्वाचन चिन्ह देखाउँदै भोट मागेका उम्मेदवारलाई ८३ वर्षीय भिमकुमारी मल्ल भन्छन,पानी ल्याइदिए हुन्छ, भोटका लागि हात जोड्न पर्दैन

गैलुक क्षेत्रमा मात्र ४२ घरपरिवार बसोवास गर्दै आएकोे छ । गाउँमा जताततै खानेपानीको हाहाकार छ । खडेरीका बेला गाउँका पुराना कुवा, खोल्सीमा पानी खोज्नेको लर्को नै हुन्छ ।