सम्पादकीय

२१ देखि ९८ वर्षसम्मका उम्मेदवार



काठमाडौं, ११ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाको वडाध्यक्ष पदमा शताब्दी पुरुषले उम्मेदवारी दिनुभएको छ ।

वि.सं. १९७६ जेठ १७ गते जन्मिनुभएका ९८ वर्षीय विष्णुबहादुर रावतले दुर्गाथली गाउँपालिका ३ नम्बरको वडाध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको हो । मतदाता नम्बर ०९९४२१७६ रहेका रावत आयोगको हालसम्मको अभिलेखमा सबैभन्दा ज्येष्ठ उम्मेदवार हुनुहुन्छ ।

बझाङका जिल्ला निर्वाचन अधिकारी ध्रुव भण्डारीले ‘नेपालकै सबभन्दा वयोवृद्ध उम्मेदवारको विवरण’ भनी निर्वाचन आयोगलाई पठाएको पत्रमा यस्तो कुरा उल्लेख छ ।

दुर्गाथली गाउँपालिकाका मतदान अधिकृत नारायण रिमालले भन्नुभयो, ‘उहाँको वास्तविक उमेर त्यति भएजस्तो लागेन, नागरिकता र मतदाता परिचयपत्रमा त्यही कुरा उल्लेख छ, वृद्धभत्तासमेत लिँदै आउनुभएको रहेछ, हेर्दा भर्भराउँदो देखिनुहुन्छ ।’

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्था शाखाका वरिष्ठ कम्प्य्ुटर अधिकृत श्रीचन्द्र साहका अनुसार आयोगको सूचना प्रणालीमा दर्ता भई तथ्याङ्क परीक्षण भइसकेका उम्मेदवारहरूको विवरणमा ८० वर्ष उमेर नाघेका ५१ जना ज्येष्ठ नागरिकले उम्मेदवारी दिनुभएको छ ।

उहाँहरूमध्ये तीन जनाले नगरपालिकाको प्रमुख, दुई जनाले गाउँपालिका अध्यक्ष, १६ जनाले वडाअध्यक्ष र बाँकी २९ जनाले वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार बन्नुभएका ज्येष्ठ नागरिकमध्ये तीन जना ९० वर्ष उमेर काटिसकेका व्यक्ति हुनुहुन्छ ।

त्यस्तै  ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–५ मा पनि ९५ वर्षीया टेकबहादुर तामाङले गाउँपालिका सदस्यमा नेकपा ९एमाले०का तर्फबाट उम्मेदवारी दिनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–८ का ९३ वर्षीय सफिद मियाँले सोही पार्टीका तर्फबाट वडा सदस्यमा मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

सुनसरीकै इटहरी उपमहानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रूपमा हीरामणि शर्मा पोख्रेलको उम्मेदवारी परेको छ । कपिलवस्तुको शिवराज नगरपालिकाका ८९ वर्षीय देवकुमार भारतीले स्वतन्त्र उम्मेदवारका रूपमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएको निर्वाचन आयोगबाट थाहा भएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका–४ का लालीराम थारू राप्रपाका तर्फबाट वडा सदस्यमा उम्मेदवार हुनुहुन्छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ मा दलित महिला सदस्य उम्मेदवारमा ८६ वर्षीया जसोधरा चमार्नीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्पmबाट मनोनयन दर्ता गराउनुभएको हो । पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा ८१ वर्षीय रेवन्तबहादुर विष्ट र बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा ८१ वर्षीय भगौती थारूले राप्रपाबाट उम्मेदवारी दिनुभएको छ ।

इलामको फाकफोकथुन गाउँपालिका अध्यक्षमा ८४ वर्षीय डम्बरबहादुर राई राप्रपाबाट र बैतडीको सिगास गाउँपालिकाको अध्यक्षमा ८१ वर्षीय देवसिंह धामी स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उमेर ८० वर्ष नाघेका सबैभन्दा धेरै उम्मेदवार राप्रपाका छन् भने त्यसपछि क्रमशः नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र स्वतन्त्र रहेको तथ्याङ्कले देखाएको छ । उहाँहरूमध्ये ४४ जना पुरुष तथा सात जना महिला रहेको निर्वाचन आयोगमा उपलब्ध विवरणमा जनाइएको छ । गोरखापत्रमा समाचार छ ।