सिन्धुपाल्चोक, १२ असार । पहिरो, भूकम्प र भारतीय नाकाबन्दीका कारण सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि दुई वर्ष पर धकेलिएको छ । आयोजना निर्माणमा थप विघ्न नआएमा आगामी २०७६ असारमा पूरा हुनेछ ।
२०७१ सालमा आयोजनास्थल नजिक सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि भारतीय नाकाबन्दीले आयोजना निर्माणको काम प्रभावित भई ढिलाइ भएको हो । मुख्य संरचना सिभिलतर्फको ठेकेदार क्वाङसी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गत फागुनदेखि काम सुचारु गरेपछि आयोजना निर्माण कार्य आगामी २०७६ असार १५ गते पूरा हुने नयाँ तालिका तय भएको छ ।
ठेकेदार ब्युरोका प्रबन्धक ह्वाङ सीका अनुसार २०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पका कारण आयोजना निर्माण कार्य पाँच महिना ठप्प भएको थियो । भूकम्प आएपछि आयोजनाका कर्मचारी तथा चिनियाँ मजदुर घर फर्केका थिए । त्यस्तै २०७१ सालको जुरेको पहिरो र गत सालको बाढीका कारण आयोजना निर्माण कार्य पूर्णरूपमा प्रभावित भएको सीले बताउनुभयो । ‘भूकम्पबाट तङ्ग्रेर बल्ल काम सुरु गर्न लागेका थियौं, ठूलो बाढी आयो’, सीले भन्नुभयो, ‘यो आयोजनामा हामीलाई घाटा परे पनि पूरा गरेर छाड्नेछौं ।’
उहाँका अनुसार आयोजनाको सबैभन्दा जटिल संरचना सात किलोमिटर मुख्य सुरुङमध्ये हालसम्म सात सय मिटर खनिसकिएको छ । सुरुङ खन्न जाने तीनवटा बाटो (अडिट) निर्माण कार्य पूरा भइसकेकाले बिहान, दिउँसो र राति गरी तीनै चरणमा सुरुङ खन्ने काम भइरहेको छ । ‘सन् २०१९ को जुन ३० भित्र आयोजना पूरा गर्नुपर्ने संशोधित सम्झौता छ’, सीको भनाइ थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको ’वान बेल्ट वान रोड’ अवधारणा साकार पार्नका लागि चिनियाँ कम्पनी यो आयोजनामा घाटा खाएर पनि पूरा गर्न लागि परेको सीले बताउनुभयो । सिभिल ठेकेदार क्वाङ सीले २०७ साल पुस १७ गते ठेक्का सम्झौता गरेको थियो ।
सम्झांताअनुसार उसले २०७४ जेठ २६ गते सिभिल निर्माण कार्य पूरा गर्नुपर्ने थियो । उसले ६ करोड २० लाख अमेरिकी डलर र २ अर्ब ५७ करोड नेपाली रुपैयाँमा सम्झौता गरेको थियो ।
उहाँका अनुसार केही स्थानीय बासिन्दाले आयोजनाको बाँध क्षेत्रमा पर्ने जग्गाको मुआब्जा लिएर पनि ठाउँ खाली नगरेकाले समस्या परेको छ । सामान आइसकेको र जनशक्ति तयार रहेको भए पनि स्थानीयले घरटहरा नभत्काएकाले संरचना निर्माणमा बाधा पारेको उहाँको भनाइ थियो ।
त्यसबाहेक चीनबाट आयात गरिएका कतिपय मेसिनरी सामान वीरगन्ज भन्सारमा अड्किएको उहाँको दुखेसो व्यक्त गर्नुभयो । ’स्थानीय राजनीतिक तहमा समस्या छैन’, उहाँले भन्नुभयो ।
विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को मुख्य लगानी ९३८ प्रतिशत० रहेको मध्य भोटेकोसीको निर्माणमा भएको ढिलाइका कारण लागत वृद्धिबारे छलफल भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताउनुभयो ।’
अहिलेसम्म आयोजनाको लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेको छ’, उहाँले भन्नुभयो, ’लागत वृद्धिबारे औपचारिक निर्णय भइसकेको छैन, हामी छलफल गरिरहेका छौं ।’ अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्