सम्पादकीय

ह्वात्तै घटे कतार जाने कामदार



काठमाडौं, १२ असार । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ ।

तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो ।

रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन् । पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो ।

केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए । कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि आठ हजार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या अहिलो महिनाको तुलनामा चार हजारभन्दा बढीले कम हो । यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो ।

कार्यालयका अनुसार जुन ५ भन्दाअघि सरदर दैनिक चार सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थे । रमजानका कारण पनि केही घटेको हुन सक्ने कार्यालयका प्रमुख तेजेराज पाण्डेको अनुमान छ ।

अरब देशमा रमजानको महिना पूरै जस्तो काम ठप्प हुन्छ । कार्यालयका अनुसार पछिल्लो एक महिनामा कतारबाट नयाँ माग आउन सकेको छैन । सबै पुरानो मागमा युवा अहिले कतार गइरहेका छन् ।

मलेसिया, दुबई र साउदी अरबमा आएको आर्थिक संकट तथा आन्तरिक समस्याका कारण नेपाली रोजगारीको अवसर गुमाउन पुगेको थिए । कतारले सन् २०२२ मा सञ्चालन हुने विश्वकप फुटबलको तयारीसँगै निमार्णमा तीव्रता दिँदा रोजगारीको अवसरका बढेको थियो ।

नेपालबाट अहिलेसम्म १२ लाखभन्दा बढी युवाले कतार जान अन्तिम श्रम स्वीकृत लिइसकेका छन् । पाँच लाखभन्दा बढी युवा अहिले कतारमा काम गरिरहेका छन् । चालू आर्थिक वर्षको १० महिनामै एक लाख २० हजार जति युवा कतार पुगिसेका छन् । कतारको रोजगारीमा कस्तो समस्या आउने हो भनेर कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन ।

अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स वृद्धिदर घटेका बेला कतारको समस्याले तत्काल रेमिटेन्समा असर नगरे पनि दीर्घकालीन रूपमा भने असर गर्ने अर्थविद् बताउँछन् । कतारले भने आफ्नो देशमा आप्रावासी कामदारलाई कुनै समस्या नआउने बताइरहेको छ ।

कतारमा खाडी मुलुकले संयुक्त रूपमा लगाएको नाकाबन्दीसँगै मुस्लिमको रमजान पर्वले समेत कामदारको संख्यामा गिरावट आएको छ । त्यसमा पनि स्थानीय तहको निर्वाचन, म्यानपावर व्यसायीको चुनाव र खेती किसानीको समयले पनि कतार तथा समग्र रोजगारीका जानेको संख्याका गिरावट आएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल बताउनुहुन्छ ।

‘नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौं म्यानपावर पनि पर्ख र हेरको अवस्थामा छनु, ढकाल भन्नुहुन्छ, ‘ रोजगारदाता कम्पनी पनि विकसित घटनाक्रम हेरेर मात्रै कामदार माग गर्ने सोचमा छन् ।

कतारको रोजगारी संकट सिर्जना भएको अवस्थामा पूरै गल्फका देशमा समस्या आउने ढकाल बताउनुहुन्छ । सरकारले कि नेपालमै स्वरोजगारीको अवसर सिर्जना गराउनुपर्छ नभए नयाँ गन्तव्य मुलुकको खोजीमा ध्यानदिनुपर्ने ढकालको भनाइ छ ।

तर, तत्काल आत्तिहाल्नुपर्ने अवस्था नरहेको कूटनीतिक नियोगका अधिकारी बताउँछन् । तत्काल केही सामान्य असर देखिए पनि बिस्तारै महँगी बढ्दै जाने र सामानको अभाव हुन थाल्नेछ । खर्च बढ्ने भएकाले कतारबाट आउने रेमिटेन्स घट्नसक्ने अनुमान छ ।

नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रो योजना र सन् २०२२ को विश्वकप फुटबलका लागि आठवटा स्टेडियम कतारमा बनिरहेका छन् । सानो देश भएपनि कतार आर्थिक रूपमा बलियो राष्ट्र हो ।

सानो राष्ट्रमाथि ठूलो राष्ट्रले आफ्नो प्रभुत्व देखाउन खोजको प्रध्यापक डा.सूर्यनाथ मिश्र बताउनुहुन्छ । उडान बन्द गरे पनि यी राष्ट्रले आयातनिर्यात बन्द गर्न सक्दैनन् । गल्फ फेडेरेसनले समेत वार्तामा बोलाइसेको अवस्थामा छिट्टै समस्या समाधान निस्कने मि श्रको भनाइ छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।