Banner News

भोट हाल्न गाउँ फर्किए मतदाता 



बैतडी, १३ असार । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेको प्रतिनिधि छनोट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाता घर फर्किएका छन् ।

बुधबार हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृहजिल्लामा फर्किएका हुन् । विगत सात वर्षदेखि भारतमा मजदुरी गर्दै आएका दोगडा केदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले गाउँका प्रतिनिधि चयन गर्ने निर्वाचन भएकाले भोट हाल्न घर फर्किएको बताए ।

नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि घर फर्किएको हुूँ, उनले भने आफूले रोजेको तथा इमान्दार, विकासवादी नेता छान्न मतदान गर्छु । कर्मथलो तथा पढाइका लागि बैतडीमा रहेका देशका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृहजिल्लामा फर्कने क्रम जारी छ ।

पढाइका लागि बैतडी आएकाले निर्वाचनमा आफूले रोजेको प्रतिनिधि छान्न घर जान लागेको कैलालीको धनगढी उपमहानगरपालिका घर भई गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर, बैतडीमा अध्ययन गरिरहेका राजेन्द्र बमले बताए । मेरो नामावली धनगढीमा छ, त्यसैले धनगढी जान लागेको छु ।

त्यसैगरी, अध्ययन तथा कामको सिलसिलामा काठमाडाँै, महेन्द्रनगर, धनगढीलगायतका सहरमा पुगेका मतदाता पनि मतदानका लागि घर फर्किएका छन् । मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि बैतडी आएको छु, दोगडा केदार–३ का हेमन्त गिरीले भने ।

पार्टीभन्दा विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने सोच भने बनाएको स्थानीय भुवन भट्टको भनाइ रहेको छ । गाउँको विकास गर्ने तथा सबैलाई मिलाएर विकास गर्न सक्नेलाई भोट दिन्छु , उनले भने ।

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायमा जनताको प्रतिनिधि पुग्ने भन्दै बैतडीका स्थानीय बासिन्दा खुसी भएका छन् ।