Banner News

पाख्रिबासको मेयर–उपमेयरसहित ५२ पदमा एमालेको शानदार विजय



काठमाडौ,१७ असार । धनकुटाको पाख्रिबास नगरपालिकामा नेकपा एमालेले आश्चर्यजनक नतिजा निकालेको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलकुमार थापाले मतदान गर्नेका यो नगरपालिकामा मेयर–उपमेयर, १० जना वडाअध्यक्ष र ४० जना वडा सदस्य सबै पदमा एमालेले जित निकालेको हो ।

यसको अर्थ यो नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र र राप्रपासहित अन्य कुनै पनि दलका एक जना पनि जनप्रतिनिधि विजयी हुन सकेनन् ।

१० वटा वाडा रहेको यो नगरपालिकाको प्रमुखमा एमालेका बिर्खबहादुर राई ४ हजार ४ सय ३९ मत ल्याएर प्रमुखमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्दिरा थापाले १ हजार ६ सय २८ मत पाएकी छन् ।

त्यसै गरी उपप्रमुखमा एमालेकै देवकला पौडेल तिम्सिनाले ४ हजार ४ सय २६ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ्गले १ हजार ८ सय ३३ मत प्रप्त गरेका छन् ।

यो नगरपालिकामा राप्रपाका श्याम गुरुङ्गले १ हजार ५ सय ६५ र माओवादीका कृष्ण बहादुर कटुवालले १ हजार ६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी पवित्रा श्रेष्ठले १ हजार १ सय ६९ र माओवादीकी करुणा राईले १ हजार १ सय २ मत पाएका छन् । यो नगरपालिका राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले मतदान गरेको नगरपालिका पनि हो ।