Banner News

बाँकी निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ऐनको माग



काठमाडौँ, १७ असार । निर्वाचन आयोगले आगामी माघ ७ गतेभित्र प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्न यही असार मसान्तभित्र आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकारसँग माग गरेको छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा रहेको तीनैवटा निर्वाचन सो मितिभित्र सम्पन्न गर्न आयोगले कानुन खोजेको हो । यस अतिरिक्त निर्वाचनका लागि आवश्यक पर्ने आर्थिक र अन्य सहयोगको मागसहित उसले सरकारलाई चरणबद्ध कार्ययोजनासमेत बुझाएको छ ।

मसहित आयोगका पदाधिकारीले शु्क्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आयोगको कार्ययोजना बुझायौँ, आगामी निर्वाचनका लागि आवश्यक ऐन, कानुन तथा आर्थिक पक्षका बारेमा जानकारी गरायाँै, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज यहाँ आयोजित साक्षात्कारमा भने।

उहाँले आयोगले आगामी असोजको अन्तिम हप्ता प्रदेश सभा, कात्तिक पहिलो हप्ता राष्ट्रिय सभा र मङ्सिर महिनामा प्रतिनिधिसभाको निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।

“क्षेत्र निर्धारण आयोगको प्रतिवेदन साउन १५ भित्र आयोगले पाउनुपर्छ, यसपछि मात्र प्रदेश र प्रतिनिधिसभाका निर्वाचनको प्रक्रिया अगाडि बढ्छ” – उनले भने ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको तिथिमिति तोक्न सरकारसँग आग्रह गर्दै अब आगामी निर्वाचनको तयारी गर्न आयोगसामु धेरै समय नभएको बताए ।

वैशाख ३१ र असार १४ मा सम्पन्न स्थानीय तहका निर्वाचन नमुना निर्वाचनका रुपमा जनताको उत्साहपूर्ण सहभागिता रहेको चर्चा गर्दै उहाँले आगामी असोज २ गते प्रदेश नं २ मा हुने निर्वाचनमा पनि आममतदाताको सहभागितामा कमी नआउने विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीको एक जिज्ञासामा डा यादवले असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनको हालसम्म ३० प्रतिशत मतगणना सम्पन्न भएको जवाफ दिनुभयो । उनका अनुसार आगामी निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गर्नेबारेमा अध्ययन सुरु भएको छ ।