Banner News

कटारीको प्रमुख, उपप्रमुखमा एमाले विजयी



उदयपुर,२० असार । उदयपुर जिल्लाको कटारी नगरपालिकाको प्रमुख तथा उपमप्रमुख पदमा नेकपा एमाले का उम्मेदवार विजयी भएका छन् ।

गएराति भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ काजी ले छ हजार ९०९ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएकाछन ।

यस्तै, उपप्रमुखमा पनि एमालेका उम्मेदवार भीमकुमारी राउतले सात हजार ५१७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताए ।

प्रमुख पदमा श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ज्ञानेन्द्रमान सिंह राउतले छ हजार ७३५ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखका उम्मेदवार काँग्रेसकै निर्मला कार्कीले पाँच हजार ८८७ मत प्राप्त गर्नुभएको छ ।

यता नेकपा माओवादी केन्द्र का प्रमुखका उम्मेदवार केपी बरालले पाँच हजार ५६४ मत प्राप्त गरेर तेस्रो मत ल्याउनुभएको छ ।

अहिलेसम्मको परिणामअनुसार उदयपुर जिल्लाका आठ स्थानीय तह – चार गाउँपालिका र चार नगरपालिकामध्ये नेकपा एमाले ले तीन गाउँपालिका र कटारी नगरपालिकासहित चार स्थानमा विजय हासिल गरिसकेको छ । यता, चौदण्डीगढी नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ भने अहिले त्रियुगा नगरपालिकाको मतगणना जारी रहेको छ ।

यस्तै, बेलका नगरपालिकामा मतगणना कार्यमा विवाद भएपछि स्थगित भएको छ भने एक गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।