शैक्षिक

सप्तरीका दर्जनौँ गाउँ जलमग्न



राजविराज, २१ असार । बिगत तीन÷चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् ।

खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरी लगायतका खोलामा बाढी आउँदा कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायत दर्जनौँ गाउँका एक हजार ५०० भन्दाबढी घर डुबानमा परेका छन् ।

बाढीले हजारौं विगहामा लगाइएको धानबाली समेत बाढीले बगाएर लगेको हनुमाननगर कंकालनी नगरपालिका २ का हरिशकर बिश्वासले बताए ।

खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानियबासीले बताएका छन् ।

यस्तै महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा ४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा पर्न जोखिम रहेको बताइएको छ ।

सुन्दरी खोलाको बाँध भत्किएर लोहजारस्थित दर्जन भन्दा बढी घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न भएको छ ।

यता बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।