Banner News

किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्छ – अध्यक्ष दाहाल



काठमाडौँ, २२ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कृषि क्षेत्रमा राज्यले पूर्णरुपमा लगानी गर्ने मात्रै नभई किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।

राष्ट्रिय किसान आयोगले यहाँ आज आयोजना गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, लगानीको मात्रामा वृद्धि तथा किसानलाई नै अधिकार प्रदान गरेर थप व्यावसायिक एवम् जिम्मेवार बनाउनुपर्छ भने ।

अध्यक्ष दाहालले कृषि नेपालको अर्थतन्त्रको आधार भएकाले यसको उन्नतिका लागि नै आफ्नो नेतृत्वको सरकारले ‘सुपर जोन’, ‘जोन’ नै घोषणा गरेर काम गरेको बताए ।

उहाँले राष्ट्रिय प्रतिष्ठामा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउन पनि सकिने तर त्यसका लागि राष्ट्रिय आवश्यकतालाई नै पहिलो शर्त बनाउनुपर्नेमा जोड दिदैं राजनीतिक स्थिरता भए वैदेशिक लगानीको वातावरण आफैँ बन्ने धारणा व्यक्त गरे।

अध्यक्ष दाहालले राजनीतिक स्थिरता नहुँदा राष्ट्रिय पूँजीसमेत आफँै पलायन हुने गरेको दृष्टान्त पेस गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउनमा विशेष जोड दिनुपर्छ भने ।

आन्दोलन, बन्द, हडताल, द्वन्द्वको अवस्था रहे स्वदेशी पुँजी परिचालन गर्न पनि कठिनाइ हुने गरेको उल्लेख गर्दै उनले नेपाली जनताको स्वतन्त्रता, आत्मसम्मान र नेपालको मौलिक पहिचानमा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउन सकिनेमा जोड दिए।

अध्यक्ष दाहालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन भ्रष्टाचारको अन्त्य पनि जरुरी रहेको बताए।

आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि क्षेत्रका जानकार तथा विज्ञले वैदेशिक लगानीको प्रभाव तथा नेपालको अवस्थाका बारेमा उल्लेख गर्दै कृषि क्षेत्रलाई सवल बनाउनुपर्नेमा जोड दिए ।