सम्पादकीय

तराई–पहाड टुक्र्याउन नदिने एमालेको अभियानले मतदाता रिझायो’



काठमाडौं, २३ असार । दोस्रो संविधानसभा चुनावमा रूपन्देहीमा कांग्रेसले ७ निर्वाचन क्षेत्रमध्ये ३ मा जित हासिल गरेको थियो । यहाँका केही सहर उक्त पार्टीको ‘गढ’ मानिन्थे । तर, स्थानीय चुनावमा कांग्रेस २ तहमा खुम्चिएको छ, त्यसमा पनि उपप्रमुख गुमाएर ।

कांग्रेसले कतै माओवादी केन्द्र त कतै राष्ट्रिय जनमुक्तिसँग तालमेल गरे पनि एमालेले उछिनेको छ ।  कांग्रेस कार्यकर्ता गुट–उपगुट र प्रदेश विभाजनताका पार्टीको भूमिकाले स्थानीय चुनावमा धक्का लागेको विश्लेषण गर्न थालेका छन् । बुटवल उपमहानगरमा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले परिणामबारे पार्टीभित्र छलफल हुने बताए ।

यहाँ माओवादी केन्द्रले जम्मा एक तहमा प्रमुख पद जितेको छ । राप्रपाले भने त्यो पनि पाएन । संविधानसभा चुनावमा जम्मा एक क्षेत्र जितेको एमालेले भने अहिले ७ स्थानीय तहमा सफलता पाएको छ ।

उसले बुटवल उपमहानगरसहित ४ नगरपालिकामा वर्चस्व जमायो । कांग्रेस गढ मानिएको तिलोत्तमा नगरपालिकामै एमालेले जित्यो । यहाँ कांग्रेस नेता बालकृष्ण खाँडका भाइ रामकृष्ण उम्मेदवार थिए ।

सैनामैना र सिद्धार्थनगर नगरपालिकामा पनि एमालेले कब्जा जमायो । नगरोन्मुख सियारी, शुद्धोधन र कञ्चन गाउँपालिकामा उसैको वर्चस्व रह्यो । प्रमुख पद गुमाएका स्थानमा पनि वडा र सदस्यमा एमालेको अग्रता छ ।

विश्लेषक पदमबहादुर कार्की एमालेको जितमा बलियो संगठन र प्रदेश विभाजनविरुद्ध उसले सञ्चालन गरेको अभियानलाई प्रमुख मान्छन् । त्यति बेला यहाँका कांग्रेस र माओवादी केन्द्रका नेता–कार्यकर्ता नै पार्टीभित्र विद्रोह गरेर आन्दोलनमा होमिएका थिए ।

कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझीले उनीहरूलाई साथ दिए पनि अरू नेता चुप थिए । अहिलेको चुनावमा दुई पार्टीलाई त्यही मुद्दाले असर पुर्‍याएको चर्चा सुनिन थालेको छ ।

कांग्रेसले जिल्लाका विभिन्न नगरमा माओवादीसित तालमेल गरेको थियो । गठबन्धनका उम्मेदवारले देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा जित हात पारे । देवदहका ११ मध्ये ९ वडा र उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भए ।

मायादेवीमा प्रमुखरउपप्रमुख दुवै जिते पनि वडामा वर्चस्व छैन । विश्लेषक युवराज कँडेल प्रदेश विभाजन निर्णयको विरोधमा कांग्रेस नेता खुलेर नलाग्नुले चुनावमा प्रभाव परेको बताउँछन् । ‘प्रदेश नम्बर ५ बाट पहाड र तराईका जिल्ला टुक्र्याउन नहुने एमाले अडानले पहाडी तथा थारू बस्ती, राजमार्ग र आसपास क्षेत्रका मतदाताको मन जितेको देखिन्छ,’ उनले भने ।

फोरमलाई सफलता

सीमावर्ती क्षेत्रका स्थानीय तहमा संघीय समाजवादी फोरमले बाजी मारेको छ । यहाँका रोहिणी, गैडहवा र मर्चवारीमा फोरमले जित हासिल गरेको छ । जिल्लाभर फोरमले नयाँ शक्तिसित तालमेल गरेको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) ले आधिकारिक रूपमै चुनाव बहिष्कार घोषणा गरेपछि त्यताको मतसमेत फोरमले पाएको हो ।

जिल्ला अध्यक्ष महेन्द्र यादव चुनाव चाहने मधेसीको मनमा फोरमले ठाउँ बनाएको बताउँछन् । फोरम लोकतान्त्रिकले भने सम्मरीमाई गाउँपालिका मात्रै जितेको छ । मतगणना भइरहेको कोटहीमाईमा पनि उसको अग्रता छ ।

राजपाका मेयर

लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा राजपाका नेता मनमोहन चौधरी विजयी भएका छन् । पार्टीले चुनाव बहिष्कार गरेकाले उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

चौधरीले ८ हजार १ सय ७५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका फखरुद्धिन खाँले ७ हजार ३९ मत ल्याए । उपमेयरमा संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तव चुनिइन् । उनले ४ हजार ७ सय २० मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवको ४ हजार ५ सय ८८ मत मात्र आयो ।

कपिलवस्तुमा कांग्रेस पहिलो

जिल्लाका कपिलवस्तु नगरपालिकासहित ५ स्थानीय तहमा कांग्रेस पहिलो पार्टी बनेको छ । मधेसवादी दलको राम्रो प्रभाव रहेका तहमा जितेर कांग्रेसले साख फर्काएको छ । कपिलवस्तु नगरमा २०३२ सालदेखि नेतृत्व लिन संघर्षरत कांग्रेसले बल्ल आएर त्यो मौका पाएको छ ।

मेयरमा किरण सिंह र उपमेयरमा लक्ष्मी कसौधन विजयी भए । वडामा पनि कांग्रेसकै बहुमत सदस्य चुनिएका छन् । यहाँ २०३२ को तत्कालीन नगर पञ्चायतदेखि रामदास गुप्ताले नेतृत्व गर्दै आएका थिए ।

सबैभन्दा बढी मतदाता भएको बाणगंगा नगरपालिकामा पनि कांग्रेसले जित दर्ता गरेको छ । मंगलप्रसाद थारू मेयर चुनिएका छन् । उपमेयरमा भने एमालेका चक्र अर्याल विजयी भए ।

बुद्धभूमि नगरपालिकाको नेतृत्व पनि कांग्रेसले गर्ने भएको छ । केशव श्रेष्ठ मेयर र मीरा चौधरी उपमेयर चुनिएका छन् । महाराजगन्ज नगरपालिकामा कांग्रेसका अब्दुलकलाम खाँ मेयर र शुभावती कुर्मी उपमेयरमा विजयी भए । वडामा पनि कांग्रेसका बहुमत सदस्य छन् । यशोधरा गाउँपालिका प्रमुख–उपप्रमुखमा कांग्रेसकै गिरजेशकुमार पाण्डे र कन्यावती उपाध्याय चुनिएका छन् ।

यहाँ एमाले एक–एक नगर र गाउँपालिकामा विजयी भएको छ । शिवराज नगरपालिकामा एमालेका नेत्रराज अधिकारी मेयर र शिवकुमारी थारू उपमेयर चुनिए । पश्चिमको विजयनगर गाउँपालिकामा पनि एमालेले जित्यो । प्रमुखमा गोपाल थापा र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी चुनिए । कान्तिपुरमा समाचार छ ।