काठमाडौं, २३ असार । सरकार गठनको एक महिना पुगे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेको आरोप माओवादी केन्द्रले लगाएको छ । मन्त्रिपरिषद् विस्तार नहुँदा ३० मध्ये ८ मन्त्रालयमा मात्रै मन्त्री छन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बताइन् । ‘कांग्रेस आफ्ना मन्त्रीका आकांक्षीहरूको व्यवस्थापनमा फसेको छ, हामी एक्लैले मात्र सूची तयार गरेर अर्थ हुँदैन के गर्नु ?’ उनले भनिन्, ‘बैठक बसेर निर्णय नलिए पनि मन्त्रीहरू छान्न हाम्रोमा कुनै समस्या छैन ।’ कांग्रेसले आफ्नो तयारी सकिएको जनाउ दिएमा माओवादी केन्द्रले तत्काल हेडक्वार्टर बैठक बसेर नाम दिइहाल्ने उनले प्रस्ट पारिन् ।
कांग्रेस नेताहरूले दुई वटा कारणले ढिलाइ भएको दाबी गरेका छन् । एउटा, सत्ता साझेदारसँग छलफल गर्न बाँकी रहेको र अर्को, दोस्रो चरणको स्थानीय तहको चुनावको परिणाम कुर्ने क्रममा जारी रहेकाले ढिलाइ भएको दाबी कांग्रेस नेताहरूको छ ।
माओवादीका अर्का एक नेताले भने प्रधानमन्त्री चुनावपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले एकपटक पनि पार्टी बैठक नराखेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सरकारमा जाने पार्टी प्रतिनिधि र संगठनको जिम्मेवारीलगायत विषयमा पार्टीमा राम्ररी छलफल हुन छाडेको गुनासो गरे ।
पार्टीमा कुनै तयारी देखिएको छैन, महत्त्वपूर्ण समय मन्त्री छान्न ढिलाइ गरेर बित्ला जस्तो छ,’ उनले भने, ‘दोस्रो चरणको चुनावको समीक्षा पनि गर्न सकिएको छैन, सायद अध्यक्षले महसुस गरेपछि बैठक बोलाउनुहोला कि ।’
फोरम सरकारमा जाँदैनः यादव
यसैबीच, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । कांग्रेस नेताहरूले यादव नेतृत्वको फोरमसित पनि सत्ता साझेदारीबारे छलफलको प्रयास भइरहेको बताइरहेकै बेला उनले सत्ता बाहिरै बस्ने प्रस्ट पारेका हुन् ।
अहिले सरकारमा जाने पार्टी नीति नरहेको उनले बताए । ‘पार्टी अहिलेकै अवस्थामा सरकारमा जाँदैन, हामी बाहिरै बसेर समर्थन गर्छौं,’ यादवले भने, ‘हामी सरकारमा जाने भनी आइरहेका खबरमा सत्यता छैन ।’ कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्