काठमाडौं, २४ असार । पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले शुक्रबार आयोजित समारोहमा आयोगले खर्च हुन बाँकी तीन अर्ब रुपियाँ सरकारलाई फिर्ता पठाएको जानकारी दिनुभयो ।
आयोगले निर्वाचनका लागि पाएको रकम निर्वाचन भएका ६ वटा प्रदेशमा खर्च गरेको थियो । निर्वाचन हुन बाँकी प्रदेश नम्बर २ को चुनावका लागि आगामी आर्थिक वर्षको बजेटबाट खर्च गरिनेछ ।
प्रदेश दुईको निर्वाचनअघि नै चालु अर्थिक वर्ष समाप्त हुने हुँदा आयोगले बाँकी रकम फिर्ता गरेको हो । प्रमुख आयुक्त यादवले आयोगले स्थानीय तहको निर्वाचनमा विदेशीसँग निर्वाचन शीर्षकका लागि पैसा नलिएको जानकारी दिनुभयो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, आम निर्वाचन पर्यवेक्षण समिति जियोक तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प नेपालद्वारा शुक्रबार यहाँ आयोजित दोस्रो चरणको निर्वाचनको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार स्थानीय निर्वाचनमा प्रतिमतदाता ४८८ रुपियाँ खर्च भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा। यादवले प्रदेश सभा र प्रतिनिधि सभाको लागि चार मतपेटिका राखेर एकै चरणमा मतदान गराउन सम्भव नहुने दोहो¥याउनुभएको छ । आयोगले आगामी असोजको ३० गते सोमबार प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । मङ्सिरको पहिलो सातामा प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई आयोगले आग्रह गरेर पत्र पठाइसकेको छ ।
उहाँले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि चार वटा मतपत्र आवश्यक पर्ने र मतदाता नामावली नै फरक हुने भएकाले कानुनी र व्यवस्थापकीय हिसाबले सम्भव नहुने बताउनुभयो । दुवैमा प्रत्यक्ष र समानुपातिक हिसाबले दुई÷दुई वटा मतपत्र र मतपेटिका राख्नुपर्ने हुन्छ । प्रमुख आयुक्त यादवले दुवै निर्वाचनको एउटै मतपत्र प्रयोग गर्ने गरी संवैधानिक र कानुनी व्यवस्था मिलाउने हो भने मात्रै दुवै निर्वाचन एकै पटक गर्न सकिने बताउनुभयो ।
नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, जियोकका अध्यक्ष हिमालय शमशेर जबरा र सङ्कल्पका अध्यक्ष लिली थापाले हस्ताक्षर गर्नुभएको प्रतिवेदनमा निर्वाचन उल्लासपूर्ण रूपमा सम्पन्न भएको उल्लेख छ । जियोकका अध्यक्ष हिमालय शमशेर राणाले केही स्थानमा सामान्य झडप र मतपत्र च्यातिने काम भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रूपमा भएको जनाउँदै यसको सबैभन्दा ठूलो श्रेय मतदाताले प्राप्त गरेको बताउनुभयो । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्