काठमाडौं, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता एवम् प्रथम सभामुख स्वर्गीय कृष्णप्रसाद भट्टराईका जीवनका विविध पक्षबारे खोज, अध्ययन, अनुसान्धान गरेर नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक भएको बताएका छन ।
संसदीय अध्ययन तथा विकास संस्थापनाले मङ्गलबार राजधानीमा आयोजना गरिएको कृष्णप्रसाद भट्टराई प्रवचनमाला कार्यक्रममा यस्तो बताएका हुन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले स्वर्गीय भट्टराईसँगको आफ्नो सामीप्यको स्मरण गर्दै प्रजातन्त्र र बहुदलीय व्यवस्थाका लागि आजीवन समर्पण गर्ने नेताका जीवनी र व्यक्तित्व प्रकाशमा ल्याउने कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उहाँले विद्यार्थी आन्दोलनका क्रममा आफूहरू नख्खु कारागारमा बसेको बेलामा स्वर्गीय भट्टराईसँग भेट भएको र उहाँको व्यक्तित्वबाट प्रभावित भएको स्मरण गरे ।
सन्त नेता भट्टराई नेपालको पहिलो जननिर्वाचित संसद् २०१६ साल) संसद्मा सभामुख हुनुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि झन्डै १४ वर्ष कठोर कारावास सजाय भोग्नुभएका भट्टराई २०४७ – २०५६ मा दुईपटक प्रधानमन्त्री हुनुभएको थियो ।
कार्यक्रममा संसदीय अध्ययन तथा विकास संस्थापनाका अध्यक्ष एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपालमा प्रजातान्त्रिक संस्कृतिको जग भर्खर बस्न थालेको बताउए । उहाँले लोकतन्त्रलाई स्थापित गर्न त्यसलाई जनतासँग जोड्नुपर्ने धारणा राखे ।
निर्वाचनका मार्फत चुनिएका जनप्रतिनिधिले जनतासँग गर्ने ब्यवहार र आचरणले लोकतन्त्र सफल वा असफल बनाउने भूमिका निर्वाह गर्ने ढुङ्गानाले बताए । उहाँले संविधानलाई सर्वस्वीकार्य बनाएर द्वन्द्व सिर्जाना हुन सक्ने अवस्थाको अन्त्य गर्न वर्तमान सरकारले ध्यान दिनुपर्ने पनि सुझाए ।
कार्यक्रममा स्वर्गीय भट्टराईका समकालीन एवम् भट्टराई नेतृत्वको अन्तरिम सरकार (२०४७ं) का गृहमन्त्री योगप्रसाद उपाध्यायले किसुनजीको व्यक्तित्व, उहाँको राजनीतिक दूरदर्शिताबारे चर्चा गरे ।
उहाँले स्वर्गीय भट्टराईले बहुदलीय ब्यवस्थाको लागि तत्कालीन राजसंस्थासँग राख्नुभएको अडानबारे पनि चर्चा गरे । कार्यक्रममा पत्रकार युवराज घिमिरेले स्वर्गीय भट्टराई निष्ठा र सिद्धान्तमा अडिग, दूरदर्शी राजनीतिज्ञ, राजसंस्थाबाट सबैभन्दा पीडित व्यक्तित्वको रूपमा आफूले पाएको धारणा व्यक्त गरे ।
कार्यक्रममा प्राध्यापक वीरेन्द्र मिश्र, भक्तबहादुर बलायर, विनोद सिजापतिलगायतले स्वर्गीय भट्टराईका जीवनका विविध पक्षमा चर्चा गरे । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्