विश्व

उत्तर कोरियाको सीमामा कडाइले देश छोडेर भाग्ने घटे



सोल, २८ असार । उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेको समाचार छ । सो कडाइका कारण पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घट्दो रहेको देखिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरिया र चीनसँगको सीमामा पनि कडाई गरेको पाइएको छ । उत्तर कोरियाबाट भागेर चीन तथा दक्षिण कोरियातर्फ जानेको सङ्ख्या पहिलो छ महिनामा निकै घटेको पाइएको समाचारमा जनाइएको छ ।

डिएमजेट यी दुई देशतर्फ उत्तर कोरियाबाट नागरिक भाग्नका लागि प्रयोग हुने एउटा सीमा क्षेत्र हो । यहाँबाट उत्तर कोरियालीहरु दक्षिण कोरिया र चीनतर्फ पनि बर्षेनी भाग्ने गर्दछन् ।

यसरी भागेर जानेहरु दक्षिण कोरिया भएर तेस्रो मुलुकमा जाने गर्दछन् । यो सङ्ख्या पछिल्लो छ महिनामा घट्दो रुपमा रहेको देखिएको छ ।

यस बर्षको सुरुको छ महिना अथवा यस बर्षको सुरुवातदेखि जुन महिनासम्मको अवधिमा यसरी नागरिक भागेर दक्षिणतर्फ आउनेको सङ्ख्या ५९३ मात्र रहेको छ ।

यो सङ्ख्या गतवर्षको यसै अवधिको तुलनामा २०।८ प्रतिशतले कमी हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दिएको तथ्याङ्कमा यस्तो देखिएको छ ।

यसरी भाग्नेहरुमा बढीजसो महिला हुने गरेका छन् । उत्तर कोरिया छोडेर भाग्नेमा करिब ८५ प्रतिशत नै महिला हुने गर्दछन् । पुरुषहरु भने कलकारखानाको काममा धेरै व्यस्त हुने भएकोले भाग्ने अवसर निकै कममात्र पाउने गर्दछन् ।

उत्तर कोरियाले पहिलेको तुलनामा यस बर्ष सीमामा कडाई गरेको पाइएको समाचार यसअघि पनि आएको थियो । तर यो मन्त्रालयको तथ्याङ्कले यसको पुष्टि गरेको सोलबाट विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यसबर्ष उत्तरले पटक पटक आणविक परीक्षणको काम गर्ने गरेको छ । उसको यस कार्यको विश्वव्यापी रुपमा विरोध र ब्यापक मात्रामा चर्चा पनि हुने गरेको छ ।

उसको यो क्षेप्यास्त्र परीक्षणको राजनीतिसँगै उसको तारो बन्ने गरेको दक्षिण कोरियातर्फ आफ्ना नागरिक भाग्न नसकुन् भनेर यो सीमामा कडाइको रणनीति लिएको हुनसक्ने अनुमान गरिएको छ ।

आजसम्ममा उत्तर कोरियाबाट भागेर ३० हजार भन्दा बढी नागरिक दक्षिणतर्फ पुगेका छन् । उनीहरुमध्ये अधिकांश त्यहीँ नै आफ्ना परिवारसँग बसिरहेको पाइएको छ ।

त्यस्तै कतिपय मानिसहरु दक्षिणमा पनि नबसेर आफ्नो स्वतन्त्रताको खोजीमा हिँड्ने गरेको पाइएको छ । सोही कार्यका लागि उत्तर कोरियालीले देश छोड्ने गरेका पाइएको छ । एएफपी