Banner News

नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गरिने



भक्तपुर, ३१ असार । जिल्लाका दुई स्थानीय तहले आफ्नो प्रथम नगर परिषद् शुक्रबारदेखि शुरु गरेका छन् ।

मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले आव ०७४÷०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । चाँगुनारायण नगरपालिकाले स्थानीय सरकारको झल्को दिने शैलीमा आफ्नो नगर परिषद् सञ्चालन गरेको छ । ‘सुशासनयुक्त, सक्षम, समृद्ध स्थानीय सरकारः पर्यटन, संस्कृति, सम्पदा चाँगुनारायणको आधार’ भन्ने नाराका साथ शुरु भएको परिषद्मा नगर प्रमुख सोम मिश्रले रु ५७ करोड १२ लाख २८ हजारको बजेट सार्वजनिक गरे।

परिषद्ले एक वर्षभित्र आफ्नै भवन निर्माण गर्ने, पर्यटकीय क्षेत्रमा इलाइबे्ररी र फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रका सडक सञ्जालमा सबै नगरवासीको पहुँच पु¥याउनेलगायत कार्यक्रम अघि सारेको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले रु ७३ करोड ९८ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले रु १७ करोड ६५ लाखको चालु खर्च र रु ५६ करोड ३३ लाखको पूँजीगत खर्च गर्ने गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे।

परिषद्ले सांस्कृतिक तथा सम्पदायुक्त घना बस्तीको संरक्षण गर्ने, मनोहरा र हनुमन्ते खोलाको अतिक्रमण रोकी हरियाली क्षेत्रसहितको चक्रपथ निर्माण गर्ने, कलासंस्कृतिलाई एकीकृत गरी नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गर्नेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ ।