Banner News

‘उपत्यकाका सडकमा १५ दिनभित्र खाल्डा देख्नु नपरोस्’ : प्रधानमन्त्री



काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न उनले निर्देशन दिए।

शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलको पानीले बगाएर निधन भएको थियो ।

यसैगरी, सामाखुसीमा पनि बालिका सत्या सापकोटाको ढलको पानीले बगाउँदा उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताउदै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न सबै निकायका अधिकारीलाई समन्वयात्मक रुपमा काम गर्न निर्देश गरे ।

सरकार जनताका लागि बनेको हो, जनताको समस्यालाई हामीले कुनै हालतमा समाधान गर्नुपर्छ, प्रधानमन्त्रीले भने, काठमाडौँमा सडक हो कि पोखरी चिन्न नसक्ने अवस्था छ, साना विद्यार्थी हिँड्दा हिँड्दै ढलमा पसेका छन्, खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ, तपाईंहरु के गरिरहनुभएको छ काठमाडौँ उपत्यकाका खाल्डा तत्काल पुर्नुहोस्, थप बजेट चाहिए म उपलब्ध गराउँछु ।

प्रधानमन्त्री देउवाले सरोकारवाला निकायका प्रमुखलाई तत्काल स्थलगत रुपमा खटिएर समस्या समाधान गर्नसमेत निर्देशन दिए । तपार्इंहरुले आजै स्थलगत रुपमा गएर काम गर्न निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौँका खाल्डाहरु पुर्नुहोस्, फुटेका ढलहरु बनाउनुहोस्, ढलेका बिजुलीको पोल गाड्नुहोस्, उनले भने, मैले अबको १५ दिनभित्र काठमाडौँमा खाल्डाखुल्डी देख्न नपरोस्, मलाई यसको जानकारी दिनुहोस् ।

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाका नेपाल टेलिकम, विद्युत् प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिए । एउटै खाल्डो खनेर बनाउन सकिने कामका लागि तपाईंहरु किन तीन पटक खाल्डो खन्नुहुन्छ, उनले सोधे अब समन्वय गरेर काम गर्नुहोस् ।

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार गर्नसमेत निर्देशन दिए । सेवा दिने निकायका काम निजी कम्पनीलाई करारमा लिएर पनि प्रभावकारी रुपमा गर्न सकिने उनको धारणा थियो ।