सम्पादकीय

काठमाडौंमा मोनोरेल सञ्चालन सम्भव



काठमाडौं, ४ साउन । काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ ।

साइमेक्स इङ्क कम्पनीले गरेको सम्भाव्यता अध्ययनले काठमाडौंमा मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको हो । कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।

कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन प्रतिवेदन मङ्गलबार बुझाउनुभयो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत महानगरपालिकाका कर्मचारीहरूको समेत उपस्थिति थियो ।

सम्भाव्यता अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच ८ फेब्रुअरी २०१७ मा सम्झौता भएको थियो । साइमेक्स कम्पनीले चिनियाँ बीवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो । चार महिना लगाएर तयार पारिएको सम्भाव्यता अध्ययनमा जर्मनी र बेलायतका विज्ञहरूको समेत संलग्नता थियो ।

अन्य मुलुकको तुलनामा काठमाडौं मा मोनोरेल सञ्चालन सहज रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा तिलगङ्गादेखि कलङ्कीसम्म मोनोरेल सञ्चालन गर्न तथा यसबीचमा १४ वटा स्टेसनको प्रस्तावसमेत गरिएको छ ।

तिलगङ्गादेखि कलङ्कीसम्मको दूरी १० किलोमिटर छ । प्रतिवेदनमा गौशाला, एअरपोर्ट, सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, टेकु–१, टेकु–२, सोल्टीमोड, मिड कलङ्की, कलङ्की, शहीद गेट र थापाथली चोकलाई स्टेसनका रूपमा प्रस्ताव गरिएको छ ।

कम्पनीका अध्यक्ष पाण्डेले १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्नसक्ने बताए । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

एउटा रेलमा दुई सयजना यात्रु अट्नसक्ने आठवटासम्म बोगी (डब्बा) जोड्न सकिने उहाँले बताए । तर, साँघुरो भौगोलिक अवस्थाका कारण काठमाडौंमा सञ्चालन हुने मोनोरेलमा मात्र तीनवटा बोगी (डब्बा) जोड्न सकिने प्रतिवेदनमा जनाइएको छ । गोरखापत्रमा समाचार छ ।