सम्पादकीय

३३ राष्ट्रका खेलाडी सम्मिलित भारोत्तोलन प्रतियोगिता आजदेखि राजधानीमा



काठमाडौं, ६ साउन । नेपाल भारोत्तोलन संघको आयोजनामा उन्नाइसौँ युथ एसियन २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारदेखि हुँदै छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा सञ्चालन हुने उक्त च्याम्पियनसिपमा एसियाका ३३ राष्ट्रका खेलाडीको सहभागिता हुने छ ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ युथमा ९४ र जुनियरमा १०३ गरी १९७ तथा महिलातर्फ ५२ युथ तथा ५८ जुनियर गरी ११० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कूल ३०७ खेलाडीले ३२ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा पुरुष युथतर्फ ५०, ५६, ६२, ६९, ७७, ८५, ९४ र ९४ केजी प्लस तौल समूह तथा पुरुष जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिला युथतर्फ ४४, ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीमाथि तौल समूहमा तथा महिला जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजीमाथि केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट चार महिला र नौ पुरुष खेलाडीले भाग लिने प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिए । खेल यही साउन १४ गतेसम्म चल्ने छ । नेपाली खेलकुद इतिहासमा यो प्रतियोगिता आधिकारिक रुपले हालसम्मकै सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगिता भएको आयोजकले जनाएको छ ।