Banner News

संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलाल को ३९ औं स्मृति दिवस



काठमाडौं, ७ साउन/ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस शनिबार मनार्इंदैछ ।

किर्तिपुरस्थित पुष्पलाल स्मृतिबाटिका चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका शीर्षस्थ नेताहरु सहभागि थिए । त्यहाँ रहेको पुप्पलालको शालिकमा एमाले नेताहरुले माल्यार्पण गरेका थिए ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँका शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उनले राजनीतिक यात्रा शुरु गरेका थिय ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् । उनले स्थापना गरेको नेकपा अहिले एमाले, नेकपा माओवादी केन्द्र, नेकपामाले, नेकपा संयुक्त, नेमकिपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, नेकपा माक्र्सवादी, नेकपा मसाल लगायत पार्टीमा विभाजित छन् ।

पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गरेका थिय । पुष्पलालले विसं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।

कांग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे समेत उहाँले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गरे । विसं २००५ मा माक्र्स एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक उनले नेपाली भाषामा अनुवाद गरे । पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ ।