सम्पादकीय

शून्य विद्यार्थी, चार शिक्षक



बाग्लुङ, ११ साउन । गलकोट नगरपालिका –५ हरिचौरस्थित सिद्ध प्राविमा चार शिक्षक छन् । तीमध्ये तीनजना स्थायी छन् । उनीहरु दैनिक विद्यालय आउँछन् । हाजिर गर्छन र फर्कन्छन् ।
विद्यालयमा विद्यार्थी नै छैनन् ।

विद्यालयमा गत वर्ष २२ जना विद्यार्थी थिए । यो वर्ष १८ जना भर्ना भए । तर, वर्खे बिदा सकिएपछि एकजना पनि विद्यार्थी नआएको व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए । बिदापछि विद्यालय सुरु भएको एक महिना भइसकेको छ । ती विद्यार्थी अन्य विद्यालय गएको उनको भनाइ छ ।

सिद्ध प्रावि ०४१ सालमा स्थापना भएको हो । ०६९ सालमा सबैभन्दा धेरै ३५ विद्यार्थी भर्ना भएका थिए । त्यसयता निरन्तर विद्यार्थी घटिरहेको थापाले बताए । त्यसो त विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर थापलेसमेत आफ्नी छोरीलाई अर्कै विद्यालय भर्ना गरिदिएका छन् ।

विद्यालय भेलामा शिक्षकहरु घरदैलो अभियान गर्ने र विद्यार्थी संख्या बढाउने विषयमा छलफल भएको थियो । तर, घरदैलो गर्न शिक्षकहरु नमानेको थापाको भनाइ छ । नयाँ पत्रिकामा समाचार छ ।