काठमाडौ,१२ साउन । स्थानीय तहको निर्वाचनमा पार्टीमा अन्तरघात गर्नेहरुलाई नेकपा एमाले भोजपुरले कारवाहीको प्रक्रिया अघि बढाएको छ । यस अघि वैतडीको जिल्ला कमिटीले पनि अन्तरघात गर्ने नेता–कार्यकर्तामाथि कारवाहीको प्रक्रिया अघि बढाइसकेको छ ।
६१६ स्थानीय तहको परिणामले एमालेलाई पहिलो बनाए पनि एमाले नेतृत्व पूर्ण रुपमा सन्तुष्ट छैन अन्तरघातका कारण ३० देखि ३५ स्थानीय तहमा पराजय व्यहोर्नुपरेको आँकलन एमाले नेताहरुले गरेका छन् ।
निर्वाचनको समीक्षा गर्न बसेको जिल्ला कमिटी बैठकले गाउँ, इलाका र कार्यकर्ता तहबाट आएको रिपोर्टिङ्गको आधारमा त्यस्ता नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।भोजपुर नगरपालिकामा अन्तरघात गरेको भन्दै प्रदेश कमिटी सदस्य रमेश शाक्यलाई कारवाहीका लागि प्रदेश कमिटिमा सिफारिश गरिएको छ । शाक्यले पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि छानविन समितिको सिफारिशको आधारमा कारवाहीका लागि प्रदेश कमिटीमा पठाइएको जिल्ला कमिटीले जनाएको छ । भोजपुर नगरपालिकामा एमालेका मेयरका उम्मेदवार गणेश श्रेष्ठ नेपाली कांग्रेसका कैलाश आलेसँग ३६ भोटले पराजित भएका थिए ।
अन्तरघातका कारण आफ्नै किल्ला रहेको स्थानीय तहसमेत जोगाउन नसकेको कारण पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरिएको एमाले भोजपुरका सचिव शरणकुमार राईले बताए ।
जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका ९ मा वडा अध्यक्षमा वागी उममेद्वारी दिएको जिल्ला कमिटी सदस्य नवराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै वागी उठ्ने जिल्ला कमिटी सदस्य विजयलक्ष्मी राई र उनीहरुको समर्थक, प्रस्तावक संगठित सदस्य रहेका यादवकुमारी नेपाल, भीमप्रसाद लुइटेल र वावुराम शाक्यलाई कारवाही गरेको छ । वडा नं ६ र ७ का वागी उम्मेदवारहरुलाई सहयोग गरेर पार्टीविरुद्ध गतिविधि गरेको ठहर गर्दै पूर्व गाउँ पार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ ।
वागी उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिडने जिल्ला कमिटि सदस्य नविन राईलाई पनि अन्तरघात गरेको ठहर गर्दै कारवाही गरिएको छ ।
पौवादुङमा गाउँपालिकामा पार्टीविरुद्ध भोट मागेर अन्तरघात गर्ने जिल्ला कमिटि सदस्य उदय कार्की र संगठित सदस्यहरु गजेन्द्र तामाङ र कर्ण तामाङलाई कारवाही गरिएको छ ।
वाँकी स्थानीय तहमा पनि सुक्ष्म तहबाट छानविन गर्नका लागि पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको छ । भोजपुरमा ९ मध्ये ४ स्थानीय तह नेकपा एमाले, ४ नेपाली कांग्रेस र १ मा माओवादीले प्रमुख जितेको छ ।
प्रतिक्रिया दिनुहोस्