सम्पादकीय

सडक गुण्डागर्दी रोक्छुः एसएसपी खनाल



काठमाडौँ, १७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले ट्रिपर चालकको गुन्डागदी र दादागिरी अब नचल्ने बताएका छन् ।

सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर एसएसपी खनालले ट्रिपर चालक र तिनका सञ्चालकलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले प्राय टिपर गुन्डागर्दी गर्नेले संचालन गरेको आरोप समेत लगाए । उनले भने, ’केही गुन्डाले डाँडापाखा लिने अनि ट्रिपर संचालन गर्ने गरेको पाइएको छ । त्यस्ताको लगत मसँग छ । तिनका सातो लिने मात्र होइन, व्यवसाय नै बन्द गराइदिन्छु ।’

सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको र दुर्घटनासमेत बढेको गुनासो आएकाले अब जथाभावी सवारी नचलाउन एसएसपी खनालले ट्रिपर चालक र संचालकलाई आग्रह गरेका छन् ।

उनले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह समेत गरे । एसएपी खनालले भने, ’खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ । बाँच्ने व्यवस्थासम्म गर्नेको लागि तत्काल पुर्ने व्यवस्था गर्नुहोला ।’

उनले राजधानीको सडक व्यवस्था मिलाउन अब कुरेर बस्ने समय नभएको बताए । सडक विभाग र महानगरका प्रमुखसँग खनालले आग्रह गरे, ‘म पटक–पटक हात जोडेर खाल्डा पुर्नुहोस् भन्दै आउनु नपरोस् ।’ सुन्दर र सफा सहर बनाउन सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न मेयर शाक्यसँग आग्रह गरे ।

खनालले भने, ’सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन, म काम अगाडि बढाउँछु।’ उनले सबैमा उठोट भए राजधानीको ट्राफिक र सडक समस्या तत्काल समधान हुने बताए । जनप्रहार साप्ताहिकमा समाचार छ ।