शैक्षिक

पन्ध्र वर्षपछि प्रहरी फन्दामा



झापा १७ साउन । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

अभियुक्त भट्टराईलाई गत साउन ११ गते बिर्तामोड नगरपालिका–४ स्थित मुक्तिचोकबाट पक्राउ गरिएको प्रनाउ थेवेले बताए ।

फरार अभियुक्त खोजी अभियानअन्तर्गत भट्टराईको खोजी गरिरहेका थियौँ, उनले रासससँग भने, अभियुक्त बिर्तामोडमै रहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दा समात्न सफल भयौँ ।

मृतकका दाजु धनबहादुर क्षेत्रीले दिएको उजुरीका आधारमा भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपसमेत गरी अनुसन्धान भइरहेको र मृतकका आफन्तलाई खोजी गरी सम्पर्कमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।