शैक्षिक

त्रिशूली अस्पतालबाट फार्मेसी सञ्चालन



नुवाकोट, १८ साउन । नुवाकोट जिल्ला अस्पतालले आजदेखि फार्मेसी औषधि पसल सञ्चालनमा ल्याएको छ ।

सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन सहित बजेट विनियोजन भएपछि रु पाँच लाखको लगानीमा उक्त अस्पतालले कोटेशनमार्फत औषधि खरिद गरेर फार्मेसी सेवा सञ्चालनमा ल्याएको निमित्त मेडिकल सुपरिटेण्डन डा सूर्यप्रसाद भुषालले जानकारी दिए ।

अस्पतालको फार्मेसीमा निजी औषधि पसलको भन्दा पाँच प्रतिशत सस्तो मूल्यमा २४ सैघण्टा सेवा उपलब्ध हुने निमित्त डा भुषालले बताए । फार्मेसीले ७४ प्रकारका औषधि सःशुल्क र ५० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन थालेको छ ।

फार्मेसी शुभारम्भ गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले फार्मेसी सञ्चालन भन्दा पनि सेवालाई प्रभावकारी , निरन्तर र चिकित्सकले तोकेअनुसारका औषधि उपलब्ध गराउन सुझाव दिए ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अस्पतालमा खस्कदै गएको सेवा सुधारका लागि फार्मेसी सञ्चालनले सकारात्मक सन्देश दिएकाले औषधि वितरण तथा सञ्चालनको मापदण्ड प्रभावकारी बनाउन सुझाव दिए ।

पन्ध्र श्यया क्षमताको अस्पताललाई २०६९ वैशाख सातदेखि ५० श्ययामा स्तरोन्नति गरी सञ्चालन हँुदै आएको छ । सो अस्पतालमा रसुवा र धादिङका समेत गरी दैनिक एक सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

सो फार्मेसी २४सै घण्टा सञ्चालन हुने र आवश्यक सबै प्रकारका औषधि उपलब्ध गराउन पहल गर्दै जाने अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिए ।