खोटाङ, १९ साउन । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ ।
यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो ।
नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताएह । ‘दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो ।’ उनले भने, ‘नगरपालिकाको निर्देशनपछि तत्कालै शुल्क लिन छाडिएको छ ।’
हलेसीबाट सीमित व्यक्तिले फाइदा उठाइरहेकाले तत्काललाई शुल्क नलिन निर्देशन दिइएको नगरपालिकाका प्रमुख ईवन राईले बताए । ‘हलेसीको समग्र विकासका लागि हामीले पहल थालेका छौँ ।’ उनले भने, ‘व्यवस्थित नभएसम्मका लागि सबै किसिमको शुल्क नलिन निर्देशन दिइएको हो ।’
मन्दिर व्यवस्थापन समिति र विकास समितिले यसअघि महादेवथानमा अघोषितरुपमा मोटो रकम र बसाहाथानमा घोषितरुपमै प्रतिव्यक्ति १० रुपैयाँ लिने गरेको थियो ।
यससँगै हलेसीका स्थानीयले यसअघि त्यहाँ आउने भक्तजन तथा पर्यटकबाट विभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो आउने गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्