Banner News

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानार्षण गराए ।

बैठकमा सांसद बलबहादुर महतले जुम्लामा केही समयअघि मन्दिरबाट मूर्ति चोरी भएको घटनाका सम्बन्धमा खासै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद बलराम अधिकारीले लुम्बिनी अन्तर्गतपर्ने हुलाकी सडक चार लेनको बनाउने भनेको तर हाल त्यसमा कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद भक्तबहादुर विश्वकर्मा खपाङीले मुलुकमा भ्रष्टाचार मात्र होइन, असुरक्षा पनि भयावह रहेको भन्दै अपराधी छुटेर पुनः अपराध गर्ने गरेकोमा त्यस्ता अपराधीलाई सार्वजनिक गर्नुपर्ने माग गरे ।

सांसद भरतबहादुर खड्काले डोटीमा जिल्ला अस्पाताल ५० श्ययाको बनाउने भनेर पूर्वाधार खडा भए पनि स्वीकृति नपाएको बताउँदै त्यसलाई तत्काल स्वीकृत ।गर्न माग गरे ।

सांसद विश्वनाथ अधिकारीले बढद्ै गएका दुर्घटनाका सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै त्यसमा आवश्यक काम गर्न माग गरे ।

सांसद भोटनीदेवी खवासले ज्येष्ठ नागरिक सबैलाई ६० वर्ष पुगेपछि समानरुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न माग गर्नुभयो । सांसद मदनकुमारी शाहले राष्ट्रिय परिचयपत्रमा आमाको नाम लेख्ने व्यवस्था राख्न माग गर्दै हालसम्म घरबारविहीन मुक्तकमैयाको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सांसद मञ्जुकुमारी चौधरीले उदयपुरमा त्रियुगा नदी नियन्त्रणको गुरु योजना बने पनि पछिल्लो पटक बजेट कटौती भएकोमा आपत्ति जनाउँदै उक्त योजना लागू गर्न माग गर्नुभयो ।