समाचार

रुघाखोकीका बिरामीको लगत संकलन शुरु



काठमाडौँ, २० साउन । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी इन्फ्लुएञ्जा भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ ।

यसका लागि महाशाखाले उपत्यकाका सबै सरकारी अस्पताल तथा केही निजी अस्पताललाई पत्राचार गर्दै दैनिक विवरण अनिवार्य महाशाखामा पठाउन निर्देशन दिइएको छ । देशका केही भागमा प्रकोपका रुपमा सो फ्लु देखा परेको हुँदा यसलाई समयमै नियन्त्रणमा लिन सहयोग पु¥याउन दैनिक बिरामीको संख्याको जानकारी लिन लागेका हौँ, महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिए ।

हालसम्म एचवान, एनवान नामक सो फ्लुका कारण छ जनाको मृत्यु भइसकेको छ । ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने तथा बालबालिकालाई झाडा–बान्तासमेत हुने सो फ्लुका लक्षण हुन् ।

यसबाट जोगिन खोक्दा सफा कपडा वा रुमालले नाकमुख छोप्ने, साबुन पानीले हात धुने, पोषिलो तथा झोल पदार्थ पिउने, अनावश्यकरुपमा भीडभाड भएको स्थानमा नजान आग्रह गरिएको छ ।

निर्देशक आचार्यले मौसमी रुघाखोकीलाई नियन्त्रणमा लिन स्वास्थ्य संस्था सक्रिय रहेको पनि जानकारी दिए ।