काठमाडौ, २४ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिहरुले आग्रह पूर्वाग्रह त्यागेर जनताको काम गर्न सुझाव दिनुभएको छ । अध्यक्ष ओलीले एमालेबिरुद्ध गरिएका कुप्रचारलाई चिर्ने गरी काम गर्न समेत निर्देशन दिनुभएको छ । पार्टीले इलाममा आयोजना गरेको प्रदेश न १ का निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरिएको बधाई तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा मंगलबार ओलीले पार्टीको प्रतिष्ठा उचो गराउने काम गर्न निर्देशन दिनुभएको हो । उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक र विकास निर्माणका कामहरुलाई व्यवस्थित रुपमा अघि बढाउनपनि निर्देशन दिनुभयो ।
‘रंगिला मनाउन चुनाव जितेको होइन, जनताको काम गर्न जित्नु भएको हो । यसैले राम्रो काम गरेर देखाउनुस’ उहाँले भन्नुभयो,‘हुइयाँ चलाउने, अवरोध सिर्जना गर्नेहरुसँग सचेत भएर काम गर्नुहोस कहीबाट पनि दाग नदेखिने गरी काम गर्नुहोस, आचरण शुद्ध राख्नुहोस ।’
एमाले नीति, कार्यक्रम र विचारामा अरु दल भन्दा धेरै अघि भएकोले प्रतिष्पर्धाबाट डराएकाहरुले एमाले विरुद्धस्याल हुँइया पिटेको तर त्यसलाई जनताले बुझेको उहाँले बताउनुभयो । ‘सबै जात, वर्ग र समुदायका लागि वर्षौ लडिरहेको एमालेलाई मधेसी, जनजाति विरोधी दल भनेर आरोप लगाउने गरेको भन्दै अध्यक्ष ओलीले भने९‘यो विभाजन गराउने दुष्प्रयास मात्र हो’ उहाँले भन्नुभयो ।
दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो दल बन्ने उद्घोष ओलीले गर्नुभयो । ‘त्यहाँ एमालेलाई छिर्न नदिने मोर्चाबन्दी भइरहेको छ । तर, एमाले त्यहाँ पनि पहिलो दल बन्छ ।’ उहाँले पार्टीले गरेका सकारात्मक कामहरुको प्रचार प्रसार गर्दै सागठनिक काममा समेत ध्यान दिन सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्