काठमाडौं, २५ साउन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती भनेर पहिचान गरी स्थानान्तरणका लागि सिफारिस गरे पनि सो काम समयमा हुन नसक्दा पहिरोका कारण मानवीय र धनजनको क्षति भइरहेको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा पहिरो गएर चार जनालाई बेपत्ता बनाएको छ । त्यस स्थानमा भूकम्पका कारण डाँडाको माथिल्लो भागमा चिराचिरा परेकाले चिरामा पानी वा भेल पस्न नदिने उपाय गर्नुपर्ने निक्र्योल प्राधिकरणले गरेर सरोकारवालाहरूलाई जानकारी गराए पनि समयमा काम हुन नसक्दा र सार्नुपर्ने बस्ती समयमा नसार्दा क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ ।
‘उक्त बस्तीमा जोखिम छ भनेर सार्नुपर्ने निक्र्योल भइसक्दा पनि काम हुन नसक्दा धनजनको क्षति भएको छ, अन्य स्थानमा पनि यस्तै अवस्था छ’, प्राधिकरणका नापी अधिकृत कमल घिमिरेले भन्नुभयो, ‘सरोकारवाला सबै निकायले उत्तिकै जिम्मेबारी बोध नगर्दा यो समस्या आइरहेको छ ।’
आवास बनाउने भनेर जग्गाविहीन भूकम्प पीडित र जोखिमयुक्त स्थानमा बस्दै आएका पीडितलाई सुरक्षित स्थानमा जग्गा खरिदको लागि दुई लाख रुपियाँ उपलब्ध गराउने भने पनि त्यस्ता पीडितको निवेदन पनि प्राधिकरणले अझसम्म लिएको छैन ।
प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणको निर्देशक समितिको बैठकले प्रस्ताव गरेअनुसार मन्त्रिपरिषद्बाट निर्णय भए पनि आन्तरिक तयारी नभइसकेका कारण तत्काल निवेदन नलिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाका १३६ जोखिमयुक्त बस्ती पहिचान गरेको छ । ती स्थानबाट दुई हजार तीन सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
उनीहरूका लागि प्राधिकरणले एकीकृत बस्ती विकास गरेको स्थानमा जाने वा अन्यत्रै जग्गा खरिद गरेर सर्नेजस्ता विकल्प दिने तयारी गरेको छ । एकीकृत बस्तीमा जान चाहनेलाई भने सरकारले सम्पूर्ण पूर्वाधारसहितको व्यवस्थित र सुरक्षित स्थान उपलब्ध गराउनेछ ।
जोखिमयुक्त बस्तीका त्यस्ता घर परिवारको तथ्याङ्क सङ्कलन कार्य प्राधिकरणले गरिसकेको छ । उक्त तथ्याङ्कलाई यसअघि प्राधिकरणको लगतसँग भिडाएर कानुनी आधार स्पष्ट भएपछि सम्बन्धित गाउँपालिका र वडाको समेत सिफारिस लिएर निवेदन सङ्कलन गर्ने तयारी प्राधिकरणले गरेको प्राधिकरणका प्रमुख नापी अधिकृत घिमिरेले बताए । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्