काठमाडौं, २७ साउन । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्न दिउँसो रिंगरोड (चक्रपथ) क्षेत्रमा समेत मालबाहक सवारीसाधन निषेध गरिने भएको छ ।
१ भदौदेखि ट्रक, मिनिट्रकलगायत मालबाहक सवारीसाधनलाई निषेध गर्न लागिएको हो । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा र यातायात व्यवस्था विभागका अधिकारीबीच भएको छलफलमा बिहान ८ देखि साँझ ७ बजेसम्म सवारी निषेध गर्ने सहमति भएको हो । पेट्रोलियम पदार्थ तथा पानी बोक्ने गाडीहरूको हकमा भने यो नियम लागू हुने छैन ।
यसअघि रिंगरोडभित्र यो नियम लागू गरिएको थियो । तर, अझै पनि उपत्यकाको ट्राफिक जाममा सुधार नआएपछि मालबाहक गाडीलाई समयसीमा तोक्न लागिएको हो । बुधबार त्यसबारे ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागबीच छलफल भएको र सरोकारवालाहरूसँग थप छलफल गरी लागू गरिने ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले बताए ।
दिउँसो उपत्यका बाहिरबाट आउने मालबाहक सवारीसाधनलाई पार्किङ तोकिने भएको छ । पृथ्वी राजमार्गबाट आउनेलाई धादिङको नौबिसे, अरनिको तथा बिपी राजमार्गबाट आउनेलाई काभ्रेको बनेपा तोकिएको छ । त्यस्तै, दक्षिणकाली क्षेत्रबाट आउनेलाई चोभार र नुवाकोटतर्फबाट आउनेलाई झोर महांकालमा पार्किङस्थल तोकिएको विभागका प्रवक्ता डा।टोकराज पाण्डेले बताए ।
ट्राफिक महाशाखामा सरुवा भएपछि डिआइजी खनालले जाम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेका छन् । कार्यालय समयमा उपत्यकाका प्रमुख चोकमा एक घन्टासम्म लामो जाम हुने गरेको छ । राजधानीमा सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दै गएकाले जामको समस्या जटिल बन्दै गएको छ । कोटेश्वर, थापाथली, कलंकी, त्रिपुरेश्वर, लैनचौरलगायत क्षेत्रमा अत्यधिक जाम हुने गरेको छ ।
दिउँसो मालबाहक सवारीसाधनलाई निषेध गर्दा जाम सहज हुने ट्राफिक प्रहरीको विश्वास छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारी व्यवस्थालाई सहज बनाउन यसरी नियन्त्रण गर्न सकिने प्रावधान छ । सो समयभित्र रिंगरोडमा चल्ने सवारीसाधनलाई कारबाही गर्ने ट्राफिक प्रहरीको तयारी छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्