सप्तरी, २८ साउन । सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । तीन दिनदेखि लगातारको वर्षाका कारण पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७० हजार क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिएका छन् ।
ब्यारेजमा पाँच दिनदेखि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिए । १ लाख ५० हजार क्युसेक पानीको बहाव पुग्नेबित्तिकै ब्यारेजको कन्ट्रोल रुमले रातो बत्ती बाल्ने गर्दछ ।
पानीको निकासको लागि सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ३३ वटा ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ । पानीको बहाव उच्च हुँदासमेत भारतले कोसी ब्यारेजका अन्य ढोका खोल्न आनाकानी गरिरहेको पाइएको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च हुँदा र ब्यारेजका ढोका नखोलिँदा बराह नगरपालिकाकाका प्रकाशपुर, श्रीलंका टापु, चतराका आसपासका सर्वसाधारण प्रभावित भएका छन् । स्थानीयले ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेका छन् ।
सबै ढोका खोल्दा भारत बिहारका कतिपय जिल्लाहरू ढुबानमा पर्ने हुँदा भारतीय पक्षले ढोका खोल्न आनाकानी गर्ने गरेको स्थानीयको आरोप छ । नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्