काठमाडौं, २९ साउन । शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ । शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ । बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्रवक्ता दीपक काफ्लेले बताए ।
बाँकेको राप्ती नदीमा बाढी आउँदा पनि भारतले लक्ष्मणपुर ब्यारेजको ढोका नखोलिदिँदा डुबानमा परेको घरबार छोडेर आफ्नो र पशुको समेत शरण खोज्दै सर्वसाधारण । तराईका अधिकांश जिल्लामा यही अवस्था छ ।
शनिबार साँझसम्मको वर्षा
सिमरा २१७.२ मिलिमिटर नेपालगन्ज १६९.३ मिलिमिटर दाङमा १६७.४ मिलिमिटर जनकपुर १३७.६ मिलिमिटर भैरहवा ३९.६ मिलिमिटर काठमाडौं ३०.८ मिलिमिटर वर्षा भयो ।
वर्षा आइतबार रातिसम्म
तराई क्षेत्रमा आइतबार रातिसम्म पनि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको अनुमान छ । बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्प आइरहेकाले भारी वर्षाको प्रक्षेपण गरिएको मौसमविद् सुजन सुवेदीले बताए ।
सप्तकोसीः कूटनीतिक पहलले पनि ढोका खुलेनन्
सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथिबाट बगिरहेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भारतीय विदेश मन्त्रालयमा फोन गरेर सबै ढोका खोलिदिन आग्रह गरेका थिए । तर, शनिबार राति अबेरसम्म पनि ५६ मध्ये ३७ ढोका खोलिएको छ ।
तराईको ८०५ भूमि डुबानमा
गृह मन्त्रालयका अनुसार तराईको ८० प्रतिशत भाग डुबानमा परेको छ । र, मुख्यगरी झापा, मोरङ, सुनसरी, बारा, सर्लाही, दाङ र बर्दियामा मानवीय क्षति भएको छ । त्यस्तै, पहाडी क्षेत्रका पाल्पा, सिन्धुली र पाँचथरमा पनि पहिरोले सर्वसाधारणको ज्यान गएको छ ।
हजारौँ परिवार विस्थापित भए पनि गृह मन्त्रालयले समेत यकिन संख्या निकाल्न सकेको छैन । सयौँ अहिले पनि सम्पर्कबाहिर छन् । नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्