शैक्षिक

बाढी पहिरोका मृतकका परिवारले प्रतिव्यक्ति दुई लाख पाउने



काठमाडौं, ३० साउन । सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णयसमेत गरेको छ । बैठकले बाढीपीडितका लागि खाद्यान्न, औषधोपचारलगायतको व्यवस्था युद्धस्तरमा गर्ने निर्णय गरेको छ ।

बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिबारे पछि निर्णय लिइने मन्त्री बस्नेतले बताए ।