राजविराज, ३१ साउन । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् ।
रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।
खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । स्थानीय स्वास्थ्य चौकी, सीतापुरमा राति करिब १२ बजे सरस्वती सुत्केरी भई शिशुलाई सकुसल घर लगेकी थिइन् ।
शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा ल्याइएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ उप्रेतीले भने ।
यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ ।
स्थानीयवासी आठ वर्षीय कमल सदा मृत फेला परेका छन् । पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्