सम्पादकीय

निर्वाचन मिति तोक्न आयोगको आग्रह



काठमाडौं, ३२ साउन । निर्वाचन आयोगले आगामी २०७४ मङ्सिरको पहिलो साता संघीय व्यवस्थापिकाअन्तर्गत प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति भदौ १ गते नै तोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग पुनः आग्रह गरेको छ ।

प्रधानमन्त्री देउवाले साउन ३२ गते मुख्य तीन दलका शीर्ष नेताहरूसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने बताउनुभएको जानकारी आयोगले दिएको छ । आयोगले प्रदेश सभाको निर्वाचन असोज अन्तिममा गर्ने यसअघि नै प्रस्ताव गरेको थियो । त्यस विषयमा भने प्रधानमन्त्रीसँगको भेटवार्तापछि जारी विज्ञप्तिमा कुनै उल्लेख छैन ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवसहितको आयोगको टोलीले मङ्गलबार प्रधानमन्त्री देउवासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेको हो ।

साथै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्ने कुरा पुनः स्मरण गराइएको जानकारी आयोगले दिएको छ । भेटवार्तामा निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन अधिकृत नियुक्त

यसैबीच निर्वाचन आयोगले असोज २ गते सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

प्रदेश नं.२ का ८ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई न्याय सेवा आयोगको सिफारिसमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

आयोगले प्रदेश नं.२ मा पर्ने जिल्लाका १३६ स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहअन्तर्गत गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि आठ मुख्य निर्वाचन अधिकृत र १२८ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो । सो प्रदेशमा पहिला तय भएका १२७ र पछि थप भएका नौवटा गरी १३६ वटा स्थानीय तहका लागि निर्वाचन हुन लागेको जानकारी आयोगका उपसचिव देशबन्धु अधिकारीले दिनुभयो ।

आयोगका अनुसार भदौ १ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको हो । मुख्य निर्वाचन अधिकृतले २०७४ साल भदौ ७ गते सम्ममा र निर्वाचन अधिकृतले २०७४ साल भदौ १२ गते सम्ममा आफ्नो कार्यालय स्थापना गर्नुपर्नेछ । गोरखापत्रमा समाचार छ ।