काठमाडौ १ भदौ। छुट तथा पुनः सर्वेक्षणका लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भोलि शुक्रबारदेखि ३ सय ३२ जना इन्जिनियरले काम सुरु गर्ने भएका छन् । ती इन्जिनियरहरुका तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएर तयार पारिएको थियो ।
यसअघि दुई समूह जिल्लामा परिचालन भइसके पनि तेस्रो समूह शुक्रबारबाट काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित हुन लागेको हो् । बाँकी जिल्लामा यसअघि नै इञ्जिनियर पुगेर काम सुरु गरिसकेका छन् ।
उनीहरुले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब १ लाख २८ हजार वटा गुनासाको पुनः सर्वेक्षण गर्र्नेछन् । गुनासो फस्र्योट भएर लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन । प्राधिकरणको केन्द्रसम्म आएका २ लाख ७ हजार आठ सय ६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५ सय ६५ प्रवलीकरण सुचीमा परेका छन् ।
जीपीएस प्रविधिमा आधारित भएर ट्वाव्लेटमार्फत् गरिने यो सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुने जनाइएको छ । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको पुनःसर्वेक्षण गराई अनुदान पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्