सम्पादकीय

भारतीय बाँध भत्किएपछि जोगियो गौर



काठमाडौं, २ भदौ । चार दिनको अविरल वर्षाले सदरमुकाम गौरको तल्लो भाग शनिबारसम्म जलमग्न थियो । त्यही दिन अपराह्न बकैयाखोलाको बाढीले चन्द्रनिगाहपुर–गौर सडक खण्डको सखुअवा चोक भत्कायो । २२ किलोमिटर दूरीको मुख्य बजार डुबानमा पर्‍यो ।

स्थानीय प्रशासनले बाढीको खतरा आँकलन गर्दै चेतावनी दिएकाले स्थानीय जाग्राम थिए । ‘१० फिटसम्म पानी जम्मा भएको थियो,’ गौर भन्सार रोडका थोक सामान बिक्रेता जितेन्द्र साहले सम्झिए, ‘चारैतर्फ पानी नै पानी थियो ।’

पानीबाट जोगिन नगरवासी छतमा चढे । पक्की घर नहुनेले धर्मशाला र छिमेकीको घरमा आश्रय लिए । गौरबाट करिब एक किलोमिटर टाढा सीमा नजिक भारतले ठूलो र बलियो बाँध निर्माण गरेकाले पानीको बहाव रोकियो । ठूलो बाढी भएकाले स्थानीय र नेपाल प्रहरीले बाँधको साइफन (पानी निकासका लागि निर्माण गरिएको फलामे संरचना) खोल्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई आग्रह गरे ।

दसगजा नजिक भारतले निर्माण गरेको साइफन नखोलिदिँदा पानीले निकास पाएन । त्यसैले अत्यधिक क्षति भयो । साइफन खोल्नुको सट्टा एसएसबीले नेपालीलाई धपाए । अनि साइफनको सुरक्षार्थ खटिए । आइतबार साँझ बाढी थेग्न नसकेपछि सदरमुकामको पूर्व–दक्षिण किनारमा रहेको भारतको मसाहास्थित बाँध दुई ठाउँमा भत्किएपछि गौरको पानी बैरगनिया तर्फ बग्यो । बाँध भत्किएको ठाउँमा एक भारतीय नागरिकको तीन तले पक्की घर पनि बग्यो । कान्तिपुरमा समाचार छ ।