काठमाडौ, ३ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले सर्वेक्षणमा छुट भएर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितको पुनः सर्वेक्षणका लागि अति प्रभावित १४ जिल्लामा इन्जिनियरलाई पुनः खटाएको छ । ती जिल्लामा ३३२ जना इन्जिनियरले शुक्रबारदेखि प्राधिकरणमा प्राप्त गुनासाका आधारमा सर्वेक्षण सुरु गरेका हुन् ।
यसरी खटाइएका इन्जिनियरलाई राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । उनीहरूले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजारवटा गुनासाका आधारमा पुनः सर्वेक्षण गर्नेछन् । गुनासो फस्र्योट भएर लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणको केन्द्रसम्म आएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रबलीकरण सूचीमा परेका छन् । प्राधिकरणले पुनः सर्वेक्षण भदौ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्