सम्पादकीय

सरकारलाई निर्वाचन आयोगको निर्देशन



काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले प्रदेश २ को स्थानीय निर्वाचनसम्बन्धी कामका लागि सरकारी संरचनाहरुलाई तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगको बैठकले सरकारका नाममा १७ बुँदे निर्देशन जारी राख्दै आवश्यकता अनुसारका सबै कामहरु यथाशीध्र गर्ने व्यवस्था मिलाउन भनेको छ ।

निर्वाचन आचारसंहितको पूर्णपालना गर्ने, सरकारी सबै निकाय, संस्थान, स्थानीय निकाय, शैक्षिक संस्थाहरुले निर्वाचनका सन्दर्भमा दिएका निर्देशनलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।

सबै सरकारी निकायहरुमा कार्यरत कर्मचारीहरुको विवरण एक हप्ताभित्र सम्बन्धित निर्वाचन कार्यालयहरुलाई उपलब्ध गराउन, हवाई टिकट, हेलिकप्टरलगायत साधन तयारी अवस्थामा राख्न पनि आयोगले सरकारलाई निर्देश गरेको छ । निर्वाचनमा संलग्न कर्मचारीलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री तत्काल उपलब्ध गराउनुपर्ने, उनीहरुको सुरक्षाको उचित प्रबन्ध मिलाउनुपर्ने आयोगको निर्देशन छ ।

आयोगले सुरक्षासम्बन्धी पनि छुट्टै निर्देशन जारी गर्दै त्यसअनुसार व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । कुनै पनि व्यक्तिले विष्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोललगायत सामग्री प्रयोग वा प्रदर्शन गर्न नपाउने, मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउने र शंकास्पद आराधिक चरित्रका व्यक्तिलाई निगरानीमा राख्न पनि आयोगले निर्देशन दिएको छ । कान्तिपुरमा समाचार छ ।