सम्पादकीय

सम्बन्ध दुवैतर्फ सुमधर हुनुपर्छः चीन



काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर उत्तरी छिमेकी चीनले दुवै देशसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने जनाएको छ ।  देउवाको भ्रमणलाई नजिकबाट नियालिरहेको उसले दुवै छिमेकीले नेपालको एकअर्काप्रतिको सम्बन्धमा विश्वास गर्नुपर्नेमा समेत जोड दिएको छ ।

प्रधानमन्त्री देउवा बुधबार भारतको राजकीय भ्रमणमा निस्केको केही घण्टापछि बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले यस्तो धारणा राखेको हो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले नेपाल–चीन सम्बन्ध स्वस्थ र विकसित हुनुपर्ने औंल्याउँदै त्यस्तै सम्बन्ध भारतसँग हुँदा पनि चीन खुसी हुने बताइन् । ‘नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण रूपमा अघि बढेको भारतले समेत हेर्न चाहेको हाम्रो विश्वास छ,’ उनले भनिन् ।

विगतमा नेपाल–भारतका विषयमा प्रायः नबोल्ने चीनले पछिल्ला भ्रमणबारे भने प्रतिक्रिया जनाउँदै आएको छ । भुटान–चीन सीमा दोक्लमको विषयलाई लिएर भारतले उपस्थिति देखाएपछि दुई देशबीच तनाव बढेको छ ।

यो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणबारे चीनले गहिरिएर चासो राख्ने अडकल भइरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङ याङले गतसाता गरेको नेपाल भ्रमणलाई समेत यही विषयसँग जोड्ने गरिएको छ ।

भारतले चीन–नेपाल सम्बन्ध शान्तिपूर्ण बाटोमा अघि बढेको देख्न सक्नुपर्ने जनाउँदै चीनले आफ्नो नेपालप्रतिको नीति थप प्रस्ट पारेको छ । कूटनीतिक स्रोतका अनुसार चीनले केही समययता देउवालाई अहिलेको अवस्थामा नयाँदिल्ली नजाँदा राम्रो हुने आशय व्यक्त गरेको थियो ।

चीनमा हुने ब्रिक्स (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलनअघि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण नगरून् भन्ने चाहना उसले अनौपचारिक रूपमा व्यक्त गर्दै आएको परराष्ट्रका अधिकारीले सुनाए । यद्यपि चीनले भ्रमण सफलताको शुभेच्छा भने दिएको छ । कान्तिपुरमा समाचार छ ।