सम्पादकीय

बाढीपहिरोले तडकभडकमा कमी



काठमाडौं, ८ भदौ । तीज पर्व मनाउने नाउँमा महिना दिनदेखि महिलाले पार्टी प्यालेसदेखि पाँचतारे होटलमा दर खाने, खुवाउने र बहुमूल्य वस्तुहरूको प्रदर्शन गर्ने होडबाजीमा कमी देखिएको छ ।
तीज नजिकिएसँगै देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबानले भएको धनजनको क्षतिले गर्दा दर खाने खुवाउने प्रचलनमा यस वर्ष केही कमी आएको हो ।

कतिपय ठाउँका महिला तीजको दर खाने खुवाउने समयमा बाढीपीडितको उद्धार र राहत सङ्कलनमा जुट्नुभयो भने कतिपयले दर खान र खुवाउन लाग्ने खर्च बाढी तथा पहिरोपीडितलाई दिए । नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा अखिल नेपाल महिला सङ्घ भक्तपुर २ नम्बर क्षेत्रीय समितिले शनिबारदेखि बाढीपीडितका लागि राहत सङ्कलन कार्यक्रम नै आयोजना गरिरहेको छ ।

देशमा विपत् परेको बेला तीजको रमाइलो र नाचगान स्थगित गर्दै राहत सङ्कलनमा उनीहरु जुटेका छन । उनीहरू मात्र होइन, चन्द्रागिरि नगरपालिकाका महिला समूहका अध्यक्ष यामुना श्रेष्ठले पनि देश विपत्मा डुबिरहेको बेला दिदीबहिनी चुप लागेर बस्न नमिल्ने भन्दै आफूहरूले राहत सङ्कलनलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको बताए ।

संस्कृति तथा पुरातत्वविद् प्रा.डा.वीणा पौड्यालले केही वर्षदेखि तीज कुनै एउटा धर्म र जातिविशेषको मात्रै पर्व नभएर सबै धर्म र जातजाति, समुदाय, वर्ग लिंगले उत्सवका रूपमा मनाउने गरेको बताए ।

उहाँले पछिल्लो समयमा अधिकांश महिलाले तीज पर्वलाई महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवसरका रूपमा प्रयोग गर्ने गरेको र यो एकदमै सकारात्मक हो भने । तीजका नाममा महिनौँसम्म दर खाने, खुवाउने र तडकभडक गर्ने प्रचलनमा यस वर्ष धेरै कमी आएको उनले उल्लेख गरे । गोरखापत्रमा समाचार छ ।