सम्पादकीय

यसरी बित्छ प्रहरीको दैनिकी



काठमाडौं, १० भदौ । शान्ति सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने पहिलो निकाय नेपाल प्रहरीको दैनिकी कसरी बित्छ भनेर कौतूहलता हुन सक्छ । धेरैलाई लाग्न सक्छ, उनीहरूको दैनिकी अपराधी खोज्नमै बित्छ । तर फरक छ, उनीहरूको दैनिकी ।

पछिल्लो पटक प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार ६ हजार ४ सय ३ जना पिकेट ड्युडीमा खटिएका हुन्छन् । उनीहरूको काम पिकेट गस्ती गर्नु हो । उनीहरू दैनिक १ हजार १ सय ११ किलोमिटर दूरीको आसपासमा ड्युटीमा खटिन्छन् । त्यसैगरी ७ हजार ३ सय ५० जना पैदल गस्तीमा खटिएका हुन्छन् ।

उनीहरूले ३३ हजार ७५ किलोमिटर दूरी ‘कभर’ गरेका हुन्छन् । मुलुकभर ४ हजार ४ सय ३ जना सवारी गस्तीमा खटिएका हुन्छन् । उनीहरूले २१ हजार २ सय किलोमिटर दूरी कभर गर्ने प्रहरी प्रधान कार्यालयको दाबी छ । प्रहरीले मुलुकभर ६ सय २ स्थानमा दैनिक जुनसुकै बेला चेकजाँच गर्ने गरेको छ । त्यसका लागि ३ हजार ४२ जना जनशक्ति खटिएका हुन्छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) एवं प्रहरी प्रवक्ता पुस्कर कार्कीका अनुसार मुलुकभर रहेका ६ सय ४६ महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि २ हजार ३ सय ४४ जनशक्ति परिचालित हुन्छन् । यसमा आवश्यकताअनुसार बढ्न पनि सक्नेछ ।

विशिष्ट व्यक्तिको सुरक्षा, कार्यक्रम तथा निवास सुरक्षाका लागि १ हजार २ सय ५७ जना खटिएका हुन्छन् । व्यक्तिगत सुरक्षा गार्ड अर्थात् पीएसओ १ सय ७९ जना र विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा अर्थात् स्कटिङका लागि ५ सय ६३ जना खटिएका हुन्छन् ।

पुरानै संरचनामा काम

संघीय प्रहरी ऐन नबनेपछि प्रहरी महानिरीक्षकलाई रिर्पो्टिङ गर्ने गरी प्रदेशको इन्चार्ज बनाएर प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई खटाएको छ । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा बनाइरहेका बेला प्रहरी प्रधान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ऐन नआएसम्म पुरानै तरिकाले काम गर्ने गरी एआईजीलाई प्रदेशमा खटाइएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी पुष्कर कार्कीले संघीयता कार्यान्वयन गराउन सबैभन्दा अघि प्रहरी नै खटिएको दाबी गरे । ‘ऐन नआउन्जेल पहिला जसरी क्षेत्रीय प्रहरी कार्यालयले काम गर्थे, त्यसरी नै अहिलेका संघीय प्रहरी कार्यालयले काम गर्नेछन्,’ प्रवक्ता कार्कीले भने, ‘अञ्चल प्रहरी कार्यालय संघीय प्रहरी इकाइका रूपमा रूपान्तरित भएका छन् भने क्षेत्रीय प्रहरी कार्यालय प्रदेश प्रहरी कार्यालयका रूपमा रूपान्तरित भएका छन् ।’

पहिला क्षेत्रीय कार्यालयमा डीआईजी रहन्थे तर अब संघीयतामा प्रहरीलाई परिचालन गरिएको छ । जसअनुसार एआईजीलाई प्रदेशको जिम्मेवारी दिएर क्षेत्रमा पठाइएको छ । उनीहरू अब पहिला क्षेत्रीय डीआईजी बस्ने कार्यालयमा रहनेछन् । २ र ५ नम्बर प्रदेशमा संघीय प्रहरी कार्यालय स्थापना गर्ने तयारी भइरहेको डीआईजी कार्कीले बताए ।

प्रदेश २ मा म्यादीविहीन निर्वाचन

नेपाल प्रहरीले प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचन म्यादीविहीन हुने जनाएको छ । प्रहरी प्रवक्ता कार्कीका अनुसार सुरक्षाकर्मीहरू नै पर्याप्त हुने भएकाले म्यादी प्रहरीविहीन चुनाव हुने बताए । उनका अनुसार २६ हजार ९८ जना नेपाल प्रहरी खटिनेछन् भने सशस्त्र प्रहरी तथा नेपाली सेना पनि सहयोगीका रूपमा खटिनेछन् । राजधानीमा समाचार छ ।