सम्पादकीय

‘बाँध–तटबन्धले सीमावर्ती क्षेत्रका जनता प्रभावित’



काठमाडौं, १० भदौ । नेपाल र भारतबीचको असमान सन्धि एवं बाँध, तटबन्ध तथा सडक संरचनाले सीमावर्ती क्षेत्रका जनताको जीविकोपार्जनमा असर परेको अध्ययनले देखाएको छ ।राजधानीमा शुक्रबार ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभाव’ विषयक अन्तक्र्रियामा सीमाविद् रतन भण्डारीद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनले यो तथ्य औंल्याएको हो ।

सन् १९५४ अप्रिलको कोसी परियोजना सम्झौता, सन् १९५४ को गण्डक बाँध परियोजना सम्झौता, सन् १९९६ को शारदा बाँध परियोजना तथा महाकाली सन्धि, लक्ष्मणपुर ब्यारेज र कलकलवा तटबन्धका साथै सीमावर्ती क्षेत्रमै भारतद्वारा निर्मित बाँध तथा तटबन्धले बर्सेनि नेपालका सीमावर्ती क्षेत्रमा मानवीय, भौतिक संरचना एवं बालीनाली क्षति भइरहेको अध्ययनमा उल्लेख छ ।

‘‘स्थानीय सीमान्तकृत र निम्न वर्गीय समुदायले अस्वाभाविक पीडा भोग्दै आएका छन्, बर्सेनि हुने डुबानका कारण घरभित्रको खाद्यान्न नष्ट हुँदा र बाली डुबानमा पर्दा उनीहरूको खान र बाँच्न पाउने अधिकार खोसिएको छ,’ अध्ययनमा भनिएको छ, ‘बाढीपहिरोले कतिपय परिवार विस्थापित हुनुपरेको अवस्था पनि सिर्जना भएको छ ।’

सीमावर्ती प्रभावित क्षेत्रका जनताको पेसा खोसिनुका साथै त्यस क्षेत्रमा कुपोषण, भोकमरी, अशिक्षा, गरिबीलगायत समस्या कहालीलाग्दो गरी वृद्धि भएको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार पानीजन्य रोगको सिकार बन्नुका साथै कतिपय समुदाय विखण्डनसमेत भएका छन् । जमिन, कृषि उत्पादन र स्थानीय जीविकालाई समेत गम्भीर एवं दीर्घकालीन असरमा परेको छ । राजधानीमा समाचार छ।