काठमाडौ११ भदौ । ०५१ सालमा स्थापना भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज शैक्षिक माफियाहरुले व्यक्तिका नाममा ल्याउने प्रयास गरेपछि अहिले त्यसको सर्वत्र आलोचना सुरु भएको छ । कलेजको ३९ रोपनी जग्गा, त्यसभित्र बनेको अत्याधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल अर्वैको सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरेपछि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले समेत त्यसको आलोचना गरेका छन् ।
कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई समेत झुक्याएर निजी स्वामित्वको संस्था दर्ता गराएर सम्पत्ति ‘ट्रान्सफर’ गर्ने हर्कत गरेपछि उनको समेत विरोध भएको छ । ‘शैक्षिक माफियाहरुले अहिले निजी स्वामित्वको संस्था दर्ता गराएर सम्पत्ति ‘ट्रान्सफर’ गर्ने प्रयास गरेका छन्,’ सोही कलेजकी विद्यर्थी समेत रहेकी अनेरास्ववियु सचिवालय सदस्य आद्रता रेग्मीले भनिन्, ‘हामी सबै मिलेर शैक्षिक माफियाको भन्डाफोर गर्छौ । सस्था बचाउँन हामी जस्तो सुकै कदम चाल्न पनि तयार छौँ । सामाजिक संस्थाका रूपमा दर्ता भएको यो कलेजलाई कुनै पनि हालतमा व्यक्तिको नाममा ल्याउन मिल्दैन।’
सञ्चालक समितिमा सात जना भए पनि न्यौपाने एक्लैले त्यस्तो हर्कत गरेपछि अरु सञ्चालक सदस्यहरु समेत रुष्ट बनेका छन् । ‘न्यौपानेले कम्पनी रजिस्टारको कार्यालयमा आफ्नो कम्पनी दर्ता गरेर जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय भक्तपुरमार्फत सम्पत्ति ट्रान्सफर गराउने प्रक्रिया सुरु गरेको जानकारी आएको छ,’ रेग्मीले भनिन्, ‘उनको त्यो प्रयास कुनै हालतमा पूरा हुँदैन ।’
त्यसो त न्यौपानेको त्यस्तो हर्कतपछि सचेत बनेका कलेज सञ्चालक हरिप्रसाद पाण्डे, शलिल भट्टराईलगायतले मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रोक्का गरिपाऊँ भनी निवेदन दिएसकेका छन् ।
न्यौपानेको त्यस्तो बद्मासीका कारण करीब २ हजार विद्यार्थीको भविष्य समेत अन्योलमा पर्ने देखिएको छ । ‘संघसंस्था दर्ता ऐन २०३४ अनुसार सामजिक संस्थाको रुपमा सञ्चालित नेपाल इञ्जिनियरिङ कलेज लाई सञ्चालक समिति अध्यक्ष लम्बोदर न्यौपानेले गैरकानुनी हिसाबले प्राइभेट लिमिटेडमा दर्ता गरी अर्बौको सामाजिक सम्पती हडप्न खोजेको भन्ने समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने, ‘करिब २ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने यस्तो कार्यप्रति खेद ब्यक्त गर्दै शैक्षिक माफियाकारण र दलालीहरु निर्मुल पार्न जस्तो सुकै कदम चाल्न पनि अनेस्ववियु तयार छ ।’
प्रतिक्रिया दिनुहोस्