सम्पादकीय

एमाले शीर्ष नेताहरू मधेसमा सक्रिय



काठमाडौं, १३ भदौ । स्थानीय तहको चुनावी प्रचारमा एमाले शीर्ष र स्थायी समितिका नेताहरू प्रदेश नं. २ मा खटिएका छन् । कार्यवाहक अध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू तीन दिनदेखि चुनावी प्रचारमा खटिएका छन् ।

गौतम उम्मेदवारको नाम टुंग्याउन बाराको सिमरा पुगेका छन् भने नेपाल पर्साको वीरगन्ज महानगरपालिका र विभिन्न गाउँपालिकाद्वारा आयोजित चुनावी प्रचार र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

बारामा गौतमसँगै उपमहासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे पनि खटिएका छन् भने सचिव गोकर्ण विष्ट जनकपुर पुगेका छन् । त्यस्तै, पर्सामै स्थायी समिति सदस्य शंकर पोखरेल कार्यकर्ता प्रशिक्षण र चुनावी प्रचारका कार्यक्रममा सहभागी भइरहेका छन् ।

‘उपलब्ध नेताहरू अहिले प्रदेश नं.२ मा सक्रिय छन ।’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अध्यक्ष र महासचिव विदेशबाट फर्किएपछि तराईमै केन्द्रित छन।’

स्थायी समितिले पदाधिकारीलाई जिल्ला नै तोकेर चुनावका लागि यसअघि नै खटाइसकेको छ । जसअनुसार महासचिव पोखरेल, धनुषा, उपमहासचिवद्वय पौडेल पर्सा, अर्का उपमहासचिव घनश्याम भुसाल रौतहट, सचिवहरू प्रदीप ज्ञवाली सिरहा, योगेश भट्टराई धनुषा, पृथ्वीसुब्बा गुरुङ महोत्तरी र भीम आचार्य सप्तरी खटिइसकेका छन् । नयाापत्रिकामा समाचार छ ।