सम्पादकीय

प्रमको भारत भ्रमण, सत्तारुढ नै क्षुब्ध



काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उठेका संविधान संशोधन र कोसी उच्च बाँधका विषयलाई लिएर सत्तारुढसहित विपक्षी दलले आक्रोश पोखेका छन्। उनीहरूले संविधान संशोधनका विषयमा देउवाको अभिव्यक्ति र नेपाल भारत संयुक्त विज्ञप्तिका सम्बन्धमा सर्वदलीय बैठकमार्फत प्रधनमन्त्रीले प्रस्ट पार्नुपर्ने माग गरेका छन्।

संविधान संशोधनमा आफूले संसद्मा दुईतिहाइ जुटाउन नसकेकाले त्यसका लागि पहल गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्दै देउवाले राष्ट्रिय स्वाभिमान गिराएको दलका नेताहरूको आरोप छ। संयुक्त विज्ञप्तिको बुँदा नं.२८ मा कोसी उच्च बाँधबारे राष्ट्रिय सहिमतिविना सहमति गर्नु मुलुकका लागि धोका भएको टिप्पणी सत्ता गठबन्धनकै माओेवादी केन्द्र, विपक्षी एमाले, राप्रपालगायत केही साना दलले गरेका छन्।

एमाले वरिष्ठ नेता झलनाथ खनालले ४६ बुँदे सहमति र संविधान संशोधनबारे उठेका विषय राष्ट्रिय हित अनुकूलका नभएको बताए। ‘कुनै पनि राष्ट्रले अरूको आन्तरिक मामिलामा कुरा राख्नु राम्रो हुँदैनु, खनालले सोमबार अन्नपूर्णसित भने, ‘आफ्नो देशको काम कारबाहीको रिपोर्टिङ गर्ने कार्य प्रधानमन्त्रीबाट हुनु दुर्भाग्यपूर्ण कदम हो ।’ अन्नपूर्ण पोस्ट्मा समाचार छ ।